अर्जेन्टिनाको जितसँगै मेसीको भव्य बिदाइ

काठमाडौं । अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दै कप्तान लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइ गरेको छ ।

बुधबार ब्युनस आयर्सस्थित मास मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डी, निको पाज र मेसीले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ४८औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ६१औँ मिनेटमा पाजले अग्रता दोब्बर बनाए भने त्यसको १० मिनेटपछि मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको ३–० को जित सुनिश्चित गरे । यो अन्तर्राष्ट्रिय फुटबलमा मेसीको १२६औँ गोल हो ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसकेका मेसीको सम्मानमा अर्जेन्टिना फुटबल संघले यो विशेष बिदाइ खेल आयोजना गरेको हो । ‘लास्ट ट्याङ्गो’ नाम दिइएको यो खेल मेसीको २०८औँ अन्तर्राष्ट्रिय खेलसमेत बन्यो ।

मेसीको सम्मानमा एडिडासले उनको ब्रान्ड लोगो अंकित विशेष जर्सीसमेत तयार पारेको थियो । खेलपछि म्याच रेफ्रीले मेसीलाई रातो र पहेँलो कार्ड हस्तान्तरण गर्दै सम्मान गरेका थिए भने रंगशालाको स्क्रिनमा उनको खेल यात्रासम्बन्धी विशेष भिडियो प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया