काठमाडौं । नेपाली मुक्केबाज खगेन्द्र रोकामगर एसियाली खेलकुदअन्तर्गत पुरुष ६० केजी तौल समूहको दोस्रो चरण (अन्तिम–१६) मा प्रवेश गरेका छन् ।
बुधबार निशियो जिम्नेसियममा भएको अन्तिम–३२ को खेलमा खगेन्द्रले मकाओका अल्भिन जोन रेयेसलाई अंकका आधारमा ५–० ले पराजित गरे । तीनवटै राउन्डमा सबै निर्णायकले खगेन्द्रकै पक्षमा निर्णय दिएका थिए ।
अब अन्तिम–१६ मा खगेन्द्रले फिलिपिन्सका जुनमिलार्डो ओगायरेसँग प्रतिस्पर्धा गर्नेछन् ।
एसियाली खेलकुदमा नेपाली मुक्केबाजले पहिलो जित हात पारेका हुन् । यसअघि पुरुष ७० केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हमदान अल–सर्रेसँग, ५५ केजीमा चन्द्रबहादुर थापामगर भारतका मन्देगबाम जादुमणि सिंहसँग तथा महिला ५१ केजीमा रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थी टामसँग पराजित भएका थिए ।
अब नेपालबाट खगेन्द्रसँगै रवीन नेपाल (९० केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले प्रतिस्पर्धा गर्न बाँकी छ ।






प्रतिक्रिया