आङ्देम्बेले प्रम बालेनलाई भने : संसद् मदिरालय होइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसदीय मर्यादाको उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देखिएको टिप्पणी गरे । प्रधानमन्त्रीको दम्भ र संसदप्रतिको गैरजिम्मेवार व्यवहारले लोकतन्त्र नै कमजोर हुने चेतावनी दिए ।

सरकार बहुमतको उन्मादमा सीमित राजनीतिक घेराभित्र मात्रै केन्द्रित हुन खोजेको आरोप उनले लगाए । सरकारलाई लोकतन्त्रका आधारभूत स्तम्भहरू, संवैधानिक निकाय र नागरिक समाजलाई साथमा लिएर अघि बढ्न सुझाव दिए ।

“संसद सरकारको प्रतिस्पर्धी होइन, लोकतन्त्रको साझा संस्था हो । त्यसैले संसद्, प्रतिपक्ष र जनताका प्रश्नलाई सरकारले सम्मान गर्नुपर्छ,” उनले भने ।

संसद सरकारको प्रतिष्पर्धी नभई लोकतन्त्रको साझा मञ्च भएको स्मरण गराउँदै उनले सरकार जवाफदेही बन्नुपर्ने बताए ।

“लोकतन्त्रमा प्रश्नबाट भाग्ने होइन, प्रश्नको सम्मान गर्ने सरकार बलियो हुन्छ । त्यसैले सरकारलाई विधिको शासन, संस्थागत मर्यादा, संवाद र जवाफदेहितालाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्दछु,” उनले भने ।

प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणको विषयमा उनले प्रश्न उठाए । महासभा जानुअघि संसद्लाई जानकारी नदिइनु र फर्केपछि पनि त्यहाँ भएका गतिविधिबारे सदनलाई अनभिज्ञ राख्नु संसदीय परम्पराको उपहास भएको उनको भनाइ छ ।

उनले जलवायु परिवर्तन र भू–राजनीतिक मुद्दाहरूमा प्रधानमन्त्रीले पर्याप्त गृहकार्य गर्न नसकेको समेत उल्लेख गरे ।

आङदेम्बेले संसद बैठकमा प्रधानमन्त्रीको पटक–पटकको अनुपस्थितिलाई ‘दुर्भाग्यपूर्ण’ भने ।

“संसद् चलिरहँदा प्रधानमन्त्रीको अनुपस्थिति र संसद्प्रतिको उदासीनता उचित संसदीय अभ्यास होइन । संसद् सरकारको पनि हो, प्रतिपक्षको पनि हो र जनताको पनि हो,” आङ्देम्बेले भने, “यो आफूलाई मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने मदिरालय होइन ।”

उनले प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले नयाँ पुस्तालाई गलत सन्देश दिइरहेको जिकिर गरे । सत्तामा पुगेपछि केन्द्रिकृत र स्वेच्छाचारी कार्यकारी अधिकार प्रयोग गर्ने र बोल्नेहरूको आवाज दबाउने प्रवृत्ति घातक रहेको बताए ।

आक्रोश र डिजिटल लोकप्रियताको भरमा राज्य नचल्ने भन्दै आङ्देम्बेले संस्थागत लोकतन्त्र जोगाउन नेतृत्वको गैरजिम्मेवार शैलीमा सुधार हुनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार