काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकै बेला पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
देउवा समूहले पनि १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेका लागि तोकेको छ । सोहीअनुसार नै यस समूहले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिए । कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो । तर, संस्थापन पक्ष असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।
देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ । सो समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा शशाङ्क कोइरालाले वडा तहदेखि सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरुलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।
देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।




प्रतिक्रिया