पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउको कारण सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कारण र कानुनी आधार सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद नीनुकुमारी कर्णले सुरक्षा चुनौतीको कारण देखाउँदै जबरालाई नियन्त्रणमा लिइएको घटनाले कानुनी आधार, कारण र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको बताइन्।

उनले सुरक्षा चुनौती भए राज्यले सुरक्षा प्रदान गर्नुपर्ने भन्दै नागरिकको स्वतन्त्रता नियन्त्रणमा लिइएको अवस्थामा त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक गर्नुपर्ने धारणा राखिन्।

जबरालाई राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिसमेत भेट्न नदिएकोप्रति पनि सांसद कर्णले आपत्ति जनाइन्।

उनले व्यक्तिको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादका आधारमा संविधानले प्रदान गरेको अधिकारमा विभेद गर्न नहुने बताइन्। कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने उनको भनाइ थियो।

राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने उल्लेख गर्दै कर्णले जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा चुनौतीसम्बन्धी सूचना तथा मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिनुको कारणबारे सरकारसँग स्पष्ट जवाफ माग गरिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार