काठमाडौं । फुटबलको सर्वोच्च नियामक निकाय फिफाले आफ्ना सदस्य राष्ट्रहरूलाई करोडौँ रुपैयाँ बराबरको आर्थिक सहायता वितरण गर्ने तयारी गरेको छ। फिफा अध्यक्ष जियानी इन्फ्यान्टिनोले आगामी अध्यक्षीय निर्वाचनलाई लक्षित गर्दै सहायता रकम विस्तारको प्रस्ताव अघि बढाउन लागेको बताइएको छ।
करिब १० वर्षदेखि फिफाको नेतृत्वमा रहेका इन्फ्यान्टिनो पुनः अध्यक्ष बन्ने तयारीमा छन्। यसैक्रममा उनले फिफाका ६ वटै क्षेत्रीय महासंघका प्रमुखलाई आगामी अक्टोबर १५ मा सहायता रकम वितरणसम्बन्धी छलफलका लागि बैठक बस्ने जानकारीसहित पत्राचार गरेका छन्।
पत्रमा इन्फ्यान्टिनोले फिफाको सुशासनसम्बन्धी नियम र प्रक्रियाको पालना गर्दै सदस्य राष्ट्रलाई उपलब्ध गराउन सकिने अधिकतम आर्थिक सहयोगका पक्षमा आफू रहेको उल्लेख गरेका छन्।
इन्फ्यान्टिनोले अध्यक्षमा पुनः निर्वाचित हुने प्रयास गरिरहेका बेला सदस्य राष्ट्रका फुटबल निकायलाई आर्थिक सहायता बढाउने तयारीलाई कतिपयले निर्वाचन रणनीतिसँग जोडेर हेरेका छन्। आलोचकहरूले सहायता विस्तारमार्फत आगामी निर्वाचनका सम्भावित मतदाताको समर्थन जुटाउन खोजिएको आरोप लगाएका छन्।
यसअघि इन्फ्यान्टिनोले फिफा विश्वकप तथा अन्य प्रतियोगिताको व्यावसायिक र सञ्चालन पक्षसँग सम्बन्धित संरचनामा फिफाको २० प्रतिशत सेयर बिक्री गर्ने प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावले फिफाभित्र र बाहिर आलोचना निम्त्याएको थियो। पछिल्लो समय उनको नेतृत्व र फिफाको सुशासनलाई लिएर प्रश्नसमेत उठ्दै आएको छ।
गत साता इंग्लिस प्रिमियर लिगसहित युरोपका चार प्रमुख घरेलु लिगले फिफामा सुशासन सुधारको माग गरेका थिए। स्पेन, इटाली र जर्मनीका लिगसँगै जारी संयुक्त वक्तव्यमा फिफाको नेतृत्वले फुटबलको संरक्षणभन्दा संस्थामाथि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको आरोप लगाइएको थियो।



प्रतिक्रिया