काठमाडौं । चीनलाई नै च्याम्पियन बनाउँदै आइची नागोया एसियाली खेलकुद सम्पन्न भएको छ । प्रतियोगिताको २०औँ संस्करणमा चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्यसहित कुल ३४१ पदक जित्यो ।
चीनलाई पछ्याएको आयोजक राष्ट्र जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित कुल २६९ पदकका साथ उपविजेतामा सीमित बन्यो । महादेशीय प्रतियोगितामा चीनको दबदबा अहिले मात्र होइन । यो यात्राले चार दशकभन्दा लामो यात्र तय गरिसकेको छ ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाली खेलकुदका सुरुआती केही दशकमा जापानको वर्चश्व रह्यो । १९७८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुद अन्तिम हो, जसमा जापान च्याम्पियन बनेको थियो ।
१९८२ को दिल्ली एसियाली खेलकुदमा चीन नयाँ शक्तिका रूपमा उदायो । त्यसयता चीनलाई उछिनेर च्याम्पियन बन्ने कुनै राष्ट्र निस्किएका छैनन् ।
चीनले १९७४ को तेहरान एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । इरानमा सम्पन्न उक्त प्रतियोगितामा चीनले तेस्रो स्थान हासिल गरेको थियो ।
१९७८ को एसियाली खेलकुमा उत्कृष्ट प्रदर्शन गर्दै चीन दोस्रो स्थानमा रह्यो । त्यसयता भने चीनले दोस्रो स्थानमा झर्नुपरेको छैन ।
यसबीचमा चीनले सन् १९९०, २०१० र २०२२ मा एसियाली खेलकुद आयोजना गर्यो । एसियाली खेलकुदको इतिहासमा चीन नै सबैभन्दा धेरै पदक जित्ने राष्ट्र हो । टोलीले हालसम्म एक हजार ६७४ स्वर्ण, एक हजार १०५ रजत र ७९१ कांस्य गरी कुल तीन हजार ५७० पदक जितिसकेको छ ।
१९औँ संस्करणमा भन्दा कमजोर कमजोर
चीनले एसियाली खेलकुदमा आफ्नो च्याम्पियन छवि कायमा राखे पनि यसपालि गत संस्करणभन्दा केही खराब प्रदर्शन गर्यो । सन् २०२३ मा घरेलु मैदानमै सम्पन्न १९औँ एसियाली खेलकुदमा चीनले २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यसहित कुल ३८३ पदक जितेको थियो ।
त्यति बेलाभन्दा यसपालि चीनले ३२ स्वर्ण र २२ रजत कम जित्यो । १२ कांस्यपदक थप्यो । समग्रमा भने चीनले गत संस्करणभन्दा ४२ पदक कम जित्यो ।






प्रतिक्रिया