काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने तयारीमा रहेका ६ बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेका छन्। लाभांश घोषणा गर्नुअघि केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने व्यवस्थाअनुसार नबिल, एभरेस्ट, सानिमा, माछापुच्छ्रे, कुमारी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रक्रिया अघि बढाएका हुन्।
बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरणको बाह्य लेखापरीक्षण सम्पन्न गरेपछि लाभांश वितरणको प्रक्रिया अघि बढाएका हुन्। राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त भएपछि सम्बन्धित बैंकका सञ्चालक समितिले लाभांश प्रस्ताव गर्नेछन्।
यस वर्ष लाभांश वितरणका लागि आवेदन दिने बैंकमध्ये एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा उच्च देखिएको छ। अपरिष्कृत वित्तीय विवरणका आधारमा एभरेस्टको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ। सानिमा बैंकको २०.८५ प्रतिशत र नबिल बैंकको १९.१ प्रतिशत लाभांश क्षमता देखिएको छ।
त्यस्तै माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि राष्ट्र बैंकमा पूर्वस्वीकृतिका लागि आवेदन दिएको छ।
लाभांश क्षमता देखिनु भनेको त्यही दरमा लाभांश घोषणा हुने निश्चित हुनु भने होइन। राष्ट्र बैंकको स्वीकृति, सञ्चालक समितिको निर्णय तथा साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरणको प्रक्रिया अघि बढ्नेछ।
बैंकहरूले लाभांश प्रस्ताव गरेपछि साधारणसभा आह्वान गर्नुअघि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था छ। अन्तिम स्वीकृति पाएपछि साधारणसभा हुने मितिभन्दा कम्तीमा २१ दिनअघि सभा आह्वानको सूचना प्रकाशित गर्नुपर्छ।
राष्ट्र बैंकबाट स्वीकृति प्रक्रिया छिटो सम्पन्न भए दसैँअघि नै केही बैंकले साधारणसभा सम्पन्न गरी लाभांश वितरण गर्न सक्ने सम्भावना छ। तर स्वीकृति प्रक्रियामा ढिलाइ भए लाभांश वितरणको समय पनि पछाडि धकेलिनेछ।
बैंकिङ क्षेत्रमा यस वर्ष नगद लाभांशलाई प्राथमिकता दिने संकेत देखिएको छ। उच्च लाभांश क्षमता भएका बैंकका सेयरधनीको भने सञ्चालक समितिको प्रस्ताव र राष्ट्र बैंकको स्वीकृतितर्फ विशेष चासो देखिएको छ।
यसअघि विकास बैंकतर्फ कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरणका लागि राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाइसकेका छन्। अब वाणिज्य बैंकहरूको हकमा पनि स्वीकृति प्रक्रिया अघि बढेसँगै दसैँअघि लाभांश वितरण हुने सम्भावनाबारे लगानीकर्ताको चासो बढेको छ।






प्रतिक्रिया