काठमाडौं । इन्स्टाग्राममा ‘दिमागी नक्सल पार्टी’ नामको नयाँ अकाउन्ट केही दिनमै १ लाख ७० हजारभन्दा बढी फलोअर्ससहित चर्चित बनेको छ।
@dimaginaxalparty नामको यो अकाउन्टले आफूलाई आधिकारिक पेज बताउँदै ‘सोच्नुहोस्, अनुसन्धान गर्नुहोस्, प्रतिरोध गर्नुहोस्’ नारा राखेको थियो। तर अहिले अकाउन्ट इन्स्टाग्राममा उपलब्ध छैन र बन्द हुनुअघि साइबर हमलाको दाबी गरेको थियो।
अकाउन्ट अगस्टमा खोलिएको थियो र कसले सञ्चालन गरेको हो खुलेको छैन। यसले कमेडियन कुणाल कामरा, युट्युबर ध्रुव राठी, अभिनेता प्रकाश राज, अनुराग कश्यप, सोनाक्षी सिन्हा, सोनम वाङचुक र रविस कुमारलगायतलाई फलो गरेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको सम्बोधनमा ‘दिमागी नक्सल’ शब्द प्रयोग गर्दै माओवादी सोच भएका मानिसहरू सरकारी निकायमा बसेर नीति प्रभावित गरिरहेको बताएका थिए। त्यसपछि भारतमा यस शब्दलाई लिएर राजनीतिक बहस चर्किएको छ। पूर्वगृहमन्त्री पी. चिदम्बरमले आफू ‘दिमागी नक्सल’ भएकोमा गर्व रहेको बताएका छन् भने मन्त्री किरेन रिजिजुले यो शब्द विपक्षीका लागि नभई माओवादी र संविधानविरोधी सोच राख्नेहरूका लागि प्रयोग भएको स्पष्ट पारेका छन्।
यसअघि ‘कक्रोच जनता पार्टी’ नामको अकाउन्ट पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो।








प्रतिक्रिया