धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ गठन, दुर्गा सर्वोच्च नेता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदबाट बाहिरिएका डा. धवलशमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठन गरिएको छ।

नवगठित पार्टीमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ।

यसअघि एकता गरेका दुवै समूहले पार्टीको नाम टुंगो लगाउन उपसमिति गठन गरेका थिए। सोही उपसमितिको सिफारिसका आधारमा पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरिएको अध्यक्ष डा. राणाले जानकारी दिएका छन्।

उनका अनुसार पार्टीको कार्यकारी नेतृत्व अध्यक्षका रूपमा आफूले सम्हाल्नेछन् भने दुर्गा प्रसाईं सर्वोच्च नेताको भूमिकामा रहनेछन्।

हालका लागि अध्यक्ष र सर्वोच्च नेताबाहेक अन्य पदाधिकारी नियुक्त नगर्ने निर्णय पनि गरिएको छ। प्रारम्भिक चरणमा केन्द्रीय समिति गठन गरिने र आवश्यकता तथा समयअनुसार नेताहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिने डा. राणाले बताएका छन्।

उनका अनुसार ‘जय नेपाल पार्टी’ आगामी साउन २८ गते औपचारिक रूपमा दर्ता गरिने तयारी गरिएको छ।

प्रतिक्रिया