काठमाडौं । भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सरकारले स्थगित गर्न निर्देशन दिएको छ।
चार वर्षदेखि तयारी भइरहेको उक्त सम्मेलनमा ३९ देशका तिब्बत विषयका विज्ञ तथा अनुसन्धानकर्तालाई निमन्त्रणा गरिएको थियो। तीमध्ये १५ देशबाट प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको आयोजकले जनाएको छ।
परराष्ट्र स्रोतका अनुसार केही समयअघि चिनियाँ राजदूतले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका थिए। यद्यपि, उक्त भेटमा सम्मेलनप्रति चीनले औपचारिक आपत्ति भने नजनाएको स्रोतको दाबी छ।
त्यसपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका अधिकारीसँग सम्पर्क गरी सम्मेलन स्थगित गर्न आग्रह गरेको बताइएको छ। सरकारको तर्फबाट सुनसरीमा भएको घटनालाई कारण देखाएर कार्यक्रम रोक्न निर्देशन दिइएको स्रोतहरूको भनाइ छ।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार राजीव श्रेष्ठले पनि सरकारबाट सम्मेलन स्थगित गर्न भनिएको पुष्टि गरेका छन्। उनका अनुसार कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेका थिए र १५ देशका प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको थियो। सरकारको निर्देशनपछि आयोजक पक्ष आन्तरिक छलफलमा जुटेको उनले बताए।
यता, परराष्ट्र मन्त्रालयका एक स्रोतले भने सम्मेलन स्थगित गर्न चीनलाई कारण देखाउनु आवश्यक नरहेको टिप्पणी गरेको छ। स्रोतका अनुसार सम्मेलनमा चीनबाट पनि एक सयभन्दा बढी प्राध्यापक तथा अनुसन्धानकर्ता सहभागी हुने तयारीमा थिए।



प्रतिक्रिया