रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम २१ दिनभित्र केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ।

महामन्त्री ऋषिरमण खनालले शाखाहरूलाई पत्राचार गर्दै तोकिएको अवधिभित्र बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी भौचर वा अन्य प्रमाण पेश गर्न आग्रह गरेका छन्।

रेडक्रसका अनुसार विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन तथा समाज कल्याण परिषद्को सुझावका आधारमा यो निर्णय गरिएको हो। ती शाखामा ब्लड ब्याग, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखि झन्डै २ करोड रुपैयाँ बक्यौता रहेको जनाइएको छ।

तोकिएको समयभित्र रकम जम्मा नगरे प्रचलित कानुन र संस्थाको विधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने महामन्त्री खनालले चेतावनी दिएका छन्।

नेपाल रेडक्रस सोसाइटीभित्र लामो समयदेखि आर्थिक अनियमितता र बेरुजुसम्बन्धी प्रश्न उठिरहेका बेला नयाँ नेतृत्वले थालेको यो कदमले केन्द्र र जिल्ला शाखाबीचको आर्थिक अनुशासन र वित्तीय व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार