काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन् । सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग यस्तो बताएकी हुन् ।
अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडि नै सरकारले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ । उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन् । सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको बताइन् ।
“मलाई जहाँसम्म लाग्छ, सरकारले त्यसरी हस्तक्षेप गर्नेगरि कुनै पनि निर्णय गर्छजस्तो मलाई लाग्दैन । किनभने सरकारले नै हामीलाई एउटा अध्ययन गर्ने जिम्मेवारी दिएर यता समिति गठन गरेर आफैँ फेरि हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन,” उनले भनिन् ।
उनले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसंगत नहुने उल्लेख गरिन् । उपसमितिले निर्वाचन पोसाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने पनि बताइन् ।
अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल





प्रतिक्रिया