विश्व हिन्दु महासंघ केन्द्रीय/अन्तर्राष्ट्रिय समितिका महासचिव आचार्य श्री शम्भूहरि बास्तोलाको नेतृत्वमा पाँच सयभन्दा बढी नेपाली भक्तजन भारतको पवित्र धार्मिक नगरी हरिद्वारमा आयोजना हुने विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेका छन्।
काठमाडौं, वीरगन्ज, झापा, नवलपरासी, कञ्चनपुरलगायत देशका विभिन्न स्थानबाट बसमार्फत प्रस्थान गरेको उक्त टोलीले कार्तिक ११ गतेदेखि धार्मिक यात्रा सुरु गरेको हो। टोली कार्तिक १३ गतेबाट हरिद्वारमा आयोजना हुने दण्डवत यात्रा, रुद्राभिषेक, गंगा आरती तथा गंगा सफाइ अभियानलगायत कार्यक्रममा सहभागी हुनेछ।
श्री श्री १००८ महामण्डलेश्वर श्री करौली शंकर महादेव दास जी महाराजको पावन सान्निध्यमा आयोजना हुने कार्यक्रममा सहभागी भक्तजनहरूले ऐतिहासिक दण्डवत यात्रा, धार्मिक दर्शन, आध्यात्मिक सत्सङ्ग तथा भक्तिमय अनुष्ठानमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । यसले नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
करौली शंकर धाम नेपालका पूर्वअध्यक्ष दयाश्री प्रधानका अनुसार उक्त कार्यक्रममा नेपालबाट करिब ११ हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । देशका विभिन्न स्थानबाट भक्तजनहरू धार्मिक यात्रामा सहभागी भइरहेकाले यसले नेपाली सनातन धर्मावलम्बीहरूबीच धार्मिक एकता, आपसी सद्भाव र आध्यात्मिक जागरणको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
यसैबीच, विश्व हिन्दु महासंघ केन्द्रीय समितिका तर्फबाट कार्यक्रममा सहभागी भक्तजनहरूलाई हरिद्वारमा १० हजार रुद्राक्षका माला निःशुल्क वितरण गरिने महासचिव आचार्य शम्भुहरि बास्तोलाले जानकारी दिएका छन् । धार्मिक आस्था, साधना र शिवभक्तिको प्रतीकका रूपमा नेपाली रुद्राक्ष माला वितरण गर्ने यस कार्यक्रमले सहभागीहरूमा आध्यात्मिक उत्साह थप्ने अपेक्षा गरिएको छ ।
दण्डवत यात्रा, रुद्राभिषेक, गंगा आरती र गंगा सफाइ अभियानलाई एउटै धार्मिक यात्रासँग जोडिएको यस कार्यक्रमले सनातन संस्कृतिको संरक्षण, नदी तथा वातावरणप्रतिको प्रकृतिमैत्री धार्मिक उत्तरदायित्व र नेपाल-भारतबीचको जनस्तरको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य राखेको छ।
विश्व हिन्दु महासंघको नेतृत्वमा अघि बढेको यस धार्मिक यात्रालाई केवल तीर्थदर्शनमा सीमित नराखी सनातन परम्पराको प्रवर्द्धन, धार्मिक सहकार्य र आध्यात्मिक चेतना विस्तारको अभियानका रूपमा समेत लिइएको महासचिव बास्तोलाको बुझाइ रहेको छ ।




प्रतिक्रिया