बझाङ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको शिलदेवी मेला २०८३ भव्य रूपमा उद्घाटन गरिएको छ। चैनपुरस्थित ठूला गडामा सोमबार नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मेलाको उद्घाटन गरेका हुन्।
मेलाको उद्घाटन गर्दै महरले शिलदेवी मेला सिंगो बझाङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको मौलिकता, अस्तित्व र महत्त्व जोगाउन सबैले पहल गर्नुपर्ने बताए। मेलाले जिल्लावासीबीच सामाजिक एकता, आपसी सद्भाव र भेटघाटको अवसर सिर्जना गर्ने उल्लेख गर्दै उनले यसको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए।
‘परापूर्वकालदेखि शिलदेवीको पूजा गर्ने, देश–विदेशबाट घर फर्किएकाहरू भेटघाट गर्ने र आपसी सद्भाव साटासाट गर्ने अवसरका रूपमा मेलालाई लिने गरिएको छ। मेलाको महत्त्व कतै ओझेलमा परेको त छैन भन्ने भान भएको छ। यसको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ,’ उनले भने।
खेलकुदका माध्यमबाट मेलामा थप उत्साह थपिएको उल्लेख गर्दै महरले राम्रा काममा प्रतिस्पर्धा गर्न र नकारात्मक पक्ष हटाउन सबैले हातेमालो गर्नुपर्ने बताए। आफूले बझाङका साना–ठूला समस्या संसद्मा उठाउँदै आएको उल्लेख गर्दै उनले जिल्लाको विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।
कार्यक्रममा संविधानसभा सदस्य अफिलाल ओखेडाले बझाङमा अपेक्षाअनुसार सबै काम नभए पनि भएका प्रयास र उपलब्धिलाई बेवास्ता गर्न नहुने बताए। जिल्लामा विकास निर्माणका काम नभएको भाष्य निर्माण भइरहेको उल्लेख गर्दै उनले खेलमैदान र कभर्डहल निर्माणका लागि समेत प्रयास भइरहेको जानकारी दिए।
‘जति हुनुपर्ने हो, त्यति भएन भन्दैमा केही पनि भएको छैन भन्ने होइन। धेरै काम भएका छन्। खेलमैदान र कभर्डहल निर्माणका लागि पनि प्रयास भइरहेको छ। बझाङ बन्दै छ, बन्छ,’ ओखेडाले भने।
शिलदेवी मेला व्यवस्थापन समितिका अध्यक्ष सर्जनबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक महर प्रमुख अतिथि थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउनेलगायतको उपस्थिति थियो। विभिन्न राजनीतिक दल, संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरू पनि सहभागी थिए।
महिला–पुरुष भलिबल र देउडा मुख्य आकर्षण
मेलाको अवसरमा पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र देउडा कार्यक्रम आयोजना गरिएको छ। आयोजकका अनुसार मेलाअन्तर्गत धार्मिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिनेछन्।
स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए। उनका अनुसार भलिबल प्रतियोगिता र देउडा कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै मेलामा सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नेछ।
राजा गजराजको पालादेखि सुरु भएको मानिने यस मेलालाई बझाङको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा लिने गरिन्छ। मेलाले स्थानीय कला र संस्कृतिको संरक्षणसँगै खेलकुदको विकास, सामाजिक सद्भाव र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन मेला व्यवस्थापन समितिका सदस्य तथा उद्योग वाणिज्य संघका महासचिव नरेन्द्रबहादुर खड्काले गरेका थिए।




प्रतिक्रिया