ह्यारी केनले जिते बालोन डी’ओर, महिलातर्फ पुटेलासलाई तेस्रो उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उत्कृष्ट प्रदर्शन गर्दै केनले आफ्नो करिअरमा पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हात पारेका हुन् ।

केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा इंग्ल्यान्डकै माइकल ओवेनले यो अवार्ड जितेका थिए ।

सोमबार लन्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेपछि केनले आफू लगभग निःशब्द भएको प्रतिक्रिया दिए । उनले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गर्दै यस वर्षको प्रतिस्पर्धा निकै कठिन रहेको बताए ।

सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका केनले २०२५–२६ सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरे । उनको योगदानमा बायर्नले घरेलु लिग र कप दुवैको उपाधि जित्न सफल भयो ।

क्लब र राष्ट्रिय टोलीबाट उनले सिजनभर कुल ७३ गोल गरेको समाचारमा उल्लेख छ । विश्वकपमा समेत ६ गोल गरेका केनले इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

करिअरको सुरुवाती चरणमा टोटेनहमको मुख्य टोलीमा स्थान बनाउन संघर्ष गरेका केन विभिन्न क्लबमा लोनमा समेत गएका थिए । तर, निरन्तरको मेहनत र प्रदर्शनबाट उनले आफूलाई आफ्नो पुस्ताका प्रमुख स्ट्राइकरमध्ये एकका रूपमा स्थापित गरे ।

यस वर्षको बालोन डी’ओर दौडमा केनले किलियन एम्बाप्पे र लामिन यामलजस्ता चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । निरन्तरको गोल र टोलीको सफलतामा पुर्‍याएको योगदानका आधारमा उनले अवार्ड जितेको समाचारमा जनाइएको छ ।

महिलातर्फ एलेक्सिया पुटेलासलाई बालोन डी’ओर

महिलातर्फको बालोन डी’ओर अवार्ड स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले जितेकी छन् । यससँगै उनले आफ्नो करिअरमा तेस्रो पटक यो प्रतिष्ठित अवार्ड हात पारेकी हुन् ।

सन् २०२५–२६ सिजनमा बार्सिलोनालाई ट्रेबल उपाधिसहित स्पेनिस सुपर कप जिताउन पुटेलासले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

बार्सिलोनामा १४ वर्ष बिताएकी पुटेलासले गत जुलाईमा क्लब छाड्दै इंग्ल्यान्डको महिला फुटबल क्लब लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन् । क्लब परिवर्तन गरे पनि उनको व्यक्तिगत उपलब्धिले उनलाई महिला फुटबलको चर्चित खेलाडीका रूपमा थप स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार