काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)का अभियन्ता सौरव दास र आशुतोष रांकालाई पाँच दिनको न्यायिक हिरासतमा पठाइएको छ । मंगलबार (अक्टोबर १३)मा प्रहरीलाई छक्याउँदै जन्तर–मन्तरनजिकैको सडकमा पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि सरकारी आदेशमार्फत जन्तर–मन्तरलाई प्रदर्शनस्थलका रूपमा दिइएको मान्यता खारेज गरिएको थियो ।
दिल्ली प्रहरीका अधिकारीहरूका अनुसार, सीजेपीका कार्यकर्ताहरू निजी परिसरमा अनधिकृत रूपमा प्रवेश गरेर जन्तर–मन्तर क्षेत्रमा पुगेका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार, ती अभियन्ताहरूलाई धरौटीमा रिहा गरिएमा उनीहरूले पुनः कानुन उल्लंघन गर्न सक्ने र सर्वसाधारणलाई समेत उक्साउन सक्ने प्रहरीको दाबीपछि अदालतले उनीहरूलाई पाँच दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
सीजेपीका संस्थापक अभिजित दीपकेले केन्द्र सरकारमाथि ‘कायरतापूर्ण रणनीति’ अपनाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उनले असहमतिका आवाज दबाउन सरकार यति नै प्रतिबद्ध रहेको भए आपत्कालको औपचारिक घोषणा गर्ने साहस देखाउन चुनौती दिएका छन् ।
मिडियासँग कुरा गर्दै दीपकेले सीजेपी स्वतन्त्र दबाब समूहका रूपमा स्थापित भएको र भविष्यमा पनि त्यही स्वरूपमा रहने बताएका छन् । तर, यसलाई आफूहरू ‘इन्डिया’ गठबन्धनको विपक्षमा रहेको अर्थमा बुझ्न नहुने उनको भनाइ छ । उनले इन्डिया गठबन्धन र आफ्नो आन्दोलनको उद्देश्य समान रहेको दाबी गरेका छन् ।
सीजेपी र इन्डिया गठबन्धन दुवैले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिरहेका छन् ।






प्रतिक्रिया