काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै रुससँग शान्ति सम्झौता गर्न सक्ने नयाँ नेता चयन गर्न युक्रेनी जनतालाई सुझाव दिएका छन् ।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको आरोप लगाए । उनले युक्रेनमा शान्ति स्थापना गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
ट्रम्पले युद्धका क्रममा युक्रेनले आफ्नो ३० प्रतिशत भूभाग गुमाएको र दुवै पक्षका गरी २० लाखभन्दा बढी मानिस मारिएको दाबी गरेका छन् । यद्यपि, स्वतन्त्र आकलनअनुसार रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जामा लिएको छ ।
अमेरिकामा डिजेल आपूर्ति बढाउने विषयमा रुससँग भएको सहमतिको प्रसङ्ग उल्लेख गर्दै ट्रम्पले युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न चेतावनी दिएका छन् । उनले आफूले जेलेन्स्कीलाई रुसी रिफाइनरीमा प्रहार नगर्न स्पष्ट रूपमा भनेको बताएका छन् ।
अमेरिकामा इन्धनको मूल्य बढिरहेका बेला र आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको दबाबबीच ट्रम्पले युक्रेनका ड्रोन आक्रमणले इन्धन बजारमा समस्या सिर्जना गरेको आरोपसमेत लगाएका छन् ।
ट्रम्पको अभिव्यक्तिलाई रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका विशेष आर्थिक दूत किरिल दिमित्रिएभले स्वागत गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले जेलेन्स्कीको सट्टा शान्तिमा केन्द्रित नेतृत्व आवश्यक रहेको कुरा ट्रम्पले बुझेको बताएका छन् ।
यसैबीच, रुसले शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा गरेको बम आक्रमणमा २० जनाको मृत्यु भएको जनाइएको छ ।
उक्त आक्रमणप्रति प्रतिक्रिया दिँदै जेलेन्स्कीले रुसले डिजेल निर्यातसम्बन्धी प्रतिबन्ध हटाइएकोमा ‘धन्यवाद’ दिन आवासीय भवनहरूमा पाँचवटा ग्लाइड बम खसालेको टिप्पणी गरेका छन् ।






प्रतिक्रिया