काठमाडौं ।रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिइएको र सोहीअनुसार काम सुरु भइसकेको जानकारी दिए ।
उनका अनुसार छानबिनका लागि निश्चित समयसीमा तोक्न नसकिए पनि प्रक्रिया लामो समयसम्म नलम्बिनेछ ।
‘यस्तो कुरामा मिति तोक्न सकिँदैन । तत्काल सुरु गर्न भन्ने निर्देशन छ, सुरु भइसकेको छ,’ बुर्लाकोटीले भने, ‘अनुशासन आयोगले निर्णय गरेर काम सुरु गरिसकेको छ । लामो समय जाँदैन । जे छानबिन हुनुपर्ने हो, त्यो हुन्छ ।’
बुर्लाकोटीले यस विषयमा राज्यका सम्बन्धित निकायले पनि आवश्यक अनुसन्धान गर्नुपर्ने बताए । कानुन आकर्षित हुने अवस्था भए राज्यले अनुसन्धान अघि बढाउनुपर्ने र त्यसमा पार्टीले सहयोग गर्ने उनको भनाइ छ ।
उनले सांसद सुनारको विषयमा पार्टीले आन्तरिक अनुसन्धान सुरु गरिसकेको उल्लेख गर्दै सरकारी निकायबाट हुने अनुसन्धानलाई पनि उत्तिकै महत्त्वपूर्ण रूपमा हेरिएको बताए ।
यसअघि रास्वपाका अर्का सांसद कृष्णकुमार कार्कीबारे सार्वजनिक भएका विवादका विषयमा भने आवश्यक कारबाही गर्नुपर्ने अवस्था नदेखिएकाले प्रक्रिया अघि नबढाइएको उनले स्पष्ट पारे ।
‘त्यतिखेर पनि सामाजिक सञ्जालमा हल्ला मात्रै थियो । यसमा चाहिँ केही प्रमाणसहित बाहिर देखिएकोले त्यो सही हो वा होइन भन्ने जाँचबुझ गर्नुपर्ने भएकाले अनुशासन आयोगमा पठाइएको हो,’ बुर्लाकोटीले भने ।
उनका अनुसार छानबिनको जिम्मेवारी सम्बन्धित निकायलाई दिइसकिएको छ । अनुसन्धानबाट निष्कर्ष नआएसम्म पार्टीले प्रतीक्षा गर्नेछ । आवश्यक देखिए सरकारी निकायले पनि छुट्टै अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया