काठमाडौँ । सभामुख डीपी अर्याल र अमेरिकी तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । सभामुखसँगको शिष्टाचार भेटमा नेपाल–अमेरिका सम्बन्ध, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन र संसदीय सहकार्यका विषयमा छलफल भएको हो ।
सभामुखको सचिवालयका अनुसार भेटका क्रममा दुवै पक्षले दुई देशबीचको आपसी सहयोग र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।
सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको बताए । विपद्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेकोमा उनले अमेरिकी सरकारलाई धन्यवाद दिए ।
सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् व्यवस्थापन र जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्ने विषयको आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराए ।
जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । जलवायुसम्बन्धी विपद् सामना गर्न अनुदानमा मात्रै निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रहरूले पनि जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारी विस्तारमा केन्द्रित गर्नुपर्ने धारणा पनि सभामुख अर्यालले राखे । नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा लगानीकर्ताको विश्वास बढाउन आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
त्यसैगरी, अमेरिकी संसद्का संसदीय ककस र नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच नियमित संवाद तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । संसदीय भ्रमण र प्रतिनिधिमण्डल आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा संसदीय कूटनीतिलाई थप मजबुत बनाउने उल्लेख गर्दै उनले अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमणका लागि धन्यवाद दिए ।
भेटका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको थियो । बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिनिधिमण्डलले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको थियो ।
नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले आफूहरूलाई प्रभावित बनाएको उल्लेख गर्दै अमेरिकी प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर तथा आपसी विश्वासमा आधारित रहेको बताएको थियो । नेपालको आर्थिक, सामाजिक, भौतिक र मानवीय विकासमा निरन्तर सहयोग गर्न तथा दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू इच्छुक रहेको प्रतिनिधिमण्डलको भनाइ थियो ।
भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए ।




प्रतिक्रिया