काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको’ बताएका थिए । उक्त भनाइ गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्याउने खालको रहेको ज्ञवालीको टिप्पणी छ ।
विदेशी भूमिमा कुनै पनि सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे अभिव्यक्ति दिनु उचित नहुने उल्लेख गर्दै ज्ञवालीले नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको बताएका छन् ।
नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रवत् सम्बन्धको पक्षमा आवाज उठाउँदै आएको उनको भनाइ छ । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने विषयका रूपमा बुझ्न नहुने बताएका छन् ।
‘कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैँमा कुनै युग होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन,’ ज्ञवालीले लेखेका छन्, ‘अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?’
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने सोचको अन्त्य भएको बताएका थिए ।
नयाँ पुस्ताको मुख्य प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए ।
विगतमा दशकौँसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको वाग्लेको भनाइ थियो ।
‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ वाग्लेले भनेका थिए, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’
वाग्लेको यही अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ज्ञवालीले नेपाल र भारतबीच विद्यमान समस्यालाई बेवास्ता गरेर दुई देशको सम्बन्ध बलियो बनाउन नसकिने बताएका छन् ।
उनका अनुसार नेपाल र भारतबीच सीमा विवाद, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउँदा भोग्नुपर्ने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका एकतर्फी बाँधका कारण नेपाली भूभागमा हुने डुबानजस्ता समस्या छन् । त्यस्तै, नेपालले वैकल्पिक हवाई प्रवेश मार्ग प्राप्त गर्ने विषयमा पनि समस्या रहेको उनले उल्लेख गरेका छन् ।
घनिष्ठ छिमेकी भारतसँग यी विषयमा स्पष्ट र खुला संवाद हुनुपर्नेमा जोड दिँदै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध सुमधुर नहुने बताएका छन् । ‘समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,’ उनले लेखेका छन् ।
नेपाल–भारत सम्बन्धमा देखिएका समस्या उठाउनु कुनै देशविशेषको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय भएको ज्ञवालीको तर्क छ । उनका अनुसार राष्ट्रिय हितको संरक्षण गर्नु हरेक सरकारको दायित्व हो ।
यी विषयमा समाधान खोज्न राष्ट्रिय एकता र साझा सहमति निर्माण गरी त्यसको आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्ने उनले बताएका छन् ।
‘यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्याउँछ,’ ज्ञवालीले भनेका छन् ।
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपाली राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे राजनीतिक बहसलाई पुनः सतहमा ल्याएको छ । एकातिर नयाँ पुस्ताको प्राथमिकता आर्थिक विकास र सहकार्य हुनुपर्ने धारणा प्रस्तुत गरिएको छ भने अर्कोतर्फ छिमेकीसँगको सम्बन्धमा राष्ट्रिय हित, सार्वभौम समानता र विद्यमान समस्याबारे स्पष्ट अडान आवश्यक रहेको तर्क अघि सारिएको छ ।




प्रतिक्रिया