काठमाडौं । सर्बियामा दुई वर्षदेखि जारी विद्यार्थी नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनले संसदीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको छ । लामो समयदेखि सर्बियाली राजनीतिमा प्रभाव जमाउँदै आएका दक्षिणपन्थी पपुलिस्ट नेता अलेक्जान्दर भुचिचले मध्यावधि संसदीय चुनावमा आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् ।
आइतबार राति राजधानी बेलग्रेडस्थित आफ्नो पार्टी सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को मुख्यालयबाट सम्बोधन गर्दै भुचिचले अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहे पनि आफ्नो पार्टीले चुनाव हारेको स्पष्ट भइसकेको बताएका हुन् ।
सर्बियाको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार चुनावमा मतदाताको सहभागिता उच्च रहेको थियो । चुनावअघि राजनीतिक विश्लेषकहरूले उच्च मतदानले विद्यार्थी नेतृत्वको आन्दोलनलाई फाइदा पुग्न सक्ने आकलन गरेका थिए ।
भुचिचले चुनावी हार स्वीकार गरेपछि राजधानी बेलग्रेडसहित देशका विभिन्न सहरमा विद्यार्थी आन्दोलनका समर्थकले खुसीयाली मनाएका छन् । उनीहरूले सडकमा नाचगान, नाराबाजी र आतसबाजी गर्दै उत्सव मनाएका थिए । प्रदर्शनकारीहरूले ‘सर्बिया स्वतन्त्र भयो’ भन्दै आफ्नो खुसी व्यक्त गरेका थिए ।
सन् २०२४ मा उत्तरी सर्बियाको नोभी साद सहरस्थित रेल्वे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि सरकारविरुद्ध विद्यार्थी आन्दोलन सुरु भएको थियो । उक्त घटनालाई सरकारी लापरबाही, भ्रष्टाचार र राज्यका निकायमा जवाफदेहिताको अभावसँग जोडेर हेरिएको थियो ।
घटनापछि सुरु भएको प्रदर्शन क्रमशः देशव्यापी आन्दोलनमा परिणत भयो । सुरुमा विद्यार्थीको नेतृत्वमा अघि बढेको आन्दोलनमा पछि भ्रष्टाचारविरोधी समूह र सरकारको कार्यशैलीप्रति असन्तुष्ट नागरिकसमेत सहभागी भए । यसले भुचिच नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढाउँदै लग्यो ।
आन्दोलन चर्किएपछि भुचिचले मध्यावधि संसदीय चुनाव घोषणा गरेका थिए । त्यसपछि विद्यार्थी आन्दोलनले पनि चुनावी प्रतिस्पर्धामा सहभागी हुने निर्णय गर्दै देशका विभिन्न क्षेत्रबाट उम्मेदवार अघि सारेको थियो ।
‘स्टुडेन्ट लिस्ट’ नाम दिइएको विद्यार्थीसमर्थित चुनावी समूहमा चिकित्सक, कलाकार, प्राध्यापक, खेलकुद क्षेत्रका व्यक्तिलगायत विभिन्न पेसा र सामाजिक पृष्ठभूमिका मानिस सहभागी थिए । परम्परागत राजनीतिक दलभन्दा फरक स्वरूपमा अघि बढेको यस समूहको स्पष्ट र स्थापित राजनीतिक नेतृत्व संरचना थिएन । यसका धेरै उम्मेदवार प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नयाँ थिए ।
स्टुडेन्ट लिस्टका प्रमुख उम्मेदवार इलिया स्र्दानोभिचले बीबीसीसँग कुरा गर्दै चुनावी परिणामले सर्बियालाई स्वतन्त्र राज्यका रूपमा अघि बढाउने आशा जगाएको बताएका छन् । भ्रष्टाचारविरोधी आन्दोलनको मुख्य उद्देश्य देशलाई ‘अत्याचारबाट मुक्त’ गराउनु रहेको उनको भनाइ थियो ।
भुचिच दुई कार्यकाल सर्बियाको राष्ट्रपति भइसकेका नेता हुन् । संवैधानिक व्यवस्थाअनुसार तेस्रो कार्यकाल राष्ट्रपति बन्न नपाउने भएपछि उनले आफ्नो पार्टीको नेतृत्व गर्दै पुनः प्रधानमन्त्री बन्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । उनले सन् २०१७ मा प्रधानमन्त्री पद छाडेर राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
भुचिच युरोपेली संघ (ईयू) मा सर्बियाको सदस्यता प्रयासका समर्थक मानिन्छन् । तर, युक्रेनमाथि रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेपछि उनले मस्कोमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएका छन् ।
चुनावी अभियानका क्रममा उनले पेन्सन तथा सार्वजनिक क्षेत्रका कर्मचारीको तलब वृद्धि गर्ने र सरकारी स्वास्थ्य सेवामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि, दुई वर्षदेखि जारी भ्रष्टाचारविरोधी आन्दोलनले उनको राजनीतिक प्रभाव र पार्टीको चुनावी आधारमाथि गम्भीर चुनौती खडा गरेको देखिएको छ ।
सरकारविरुद्धको असन्तुष्टिलाई चुनावी शक्तिमा रूपान्तरण गर्ने विद्यार्थी आन्दोलनको प्रयासले सर्बियाको राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको छ । भुचिचले हार स्वीकार गरेसँगै देशको आगामी राजनीतिक दिशा र नयाँ सरकार गठनको प्रक्रियालाई चासोका साथ हेरिएको छ ।





प्रतिक्रिया