भुटानमा भीषण बाढी : हिमताल विस्फोटको आशंका, सडक सम्पर्क विच्छेद

काठमाडौं । भुटानमा गएराति एक्कासि आएको भीषण बाढीपछि हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) भएको आशंका गरिएको छ। बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाउनुका साथै विभिन्न स्थानमा सडक, सिँचाइ प्रणाली र पूर्वाधारमा क्षति पुर्‍याएको छ।

भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)का अनुसार मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लाको सौर्य सिँचाइ प्रणालीमा क्षति पुर्‍याएको छ। बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्डसमेत बगाएको छ।

त्यस्तै, लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डमा पनि सडकको केही भाग बाढीले बगाएको छ। सडक अवरुद्ध भएपछि लाया क्षेत्र भुटानका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको बीबीएसले जनाएको छ।

हालसम्म बाढीका कारण मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन्।

सिन्ताफु हिमताल विस्फोट भएको आशंका

गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुन सक्ने आशंका गरिएको छ। सिन्ताफु हिमताल भुटानको लाया गेओगअन्तर्गत लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा अवस्थित छ।

यो हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। मो छू नदीको मुहान क्षेत्रमा रहेको यस तालबाट पानी बाहिरिएर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिए पनि ती तस्बिरको आधिकारिकता पुष्टि भएको छैन। बाढीको वास्तविक कारणबारे सम्बन्धित निकायले औपचारिक जानकारी सार्वजनिक गरिसकेका छैनन्।

जोखिम क्षेत्रका बासिन्दा र कर्मचारी सुरक्षित स्थानमा सारिए

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सैनिक, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी र गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई अग्लो तथा सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुकलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पुनाखाको येबिसा क्षेत्रमा समेत बाढीको पानी पुगेको छ। पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा सारिएको पुष्टि गरेको छ।

नदीको जलस्तर निगरानी, साइरन प्रणाली सक्रिय

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम)ले मो छू नदीको तासिथाङ र येबेसा क्षेत्रमा पानीको सतह निरन्तर निगरानी गरिरहेको जनाएको छ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै मो छू नदी र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका साइरन प्रणालीसमेत सक्रिय पारिएको छ। जोखिममा पर्न सक्ने छिमेकी जिल्लाहरूलाई पनि सतर्क गराइएको छ।

बाढीसँगै ढुंगा, माटो र अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्ने आफ्ना युनिटहरू बन्द गरेको छ।

आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ। बाढीको पानी र त्यससँगै बगेर आउने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको हो।

यद्यपि, सिन्ताफु हिमताल विस्फोट भएको हो वा अन्य कारणले बाढी आएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ। बाढीको परिमाण र त्यसबाट भएको क्षतिको विस्तृत विवरणसमेत सार्वजनिक हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार