लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते

 

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको छ। नेपाल–भारत सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

मोरङ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। उनीहरू दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

पक्राउ पर्नेमा उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१, चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि छन्।

प्रहरीका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोली परिचालन गरिएको थियो। सोही क्रममा बिहीबार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो।

तर, प्रहरीको नियन्त्रणमा आउनुको सट्टा उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको डीएसपी मिश्रले जानकारी दिए। उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिक घुँडामुनि घाइते भएका हुन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) र मोटरसाइकल बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार