चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालकै पहिलो अत्याधुनिक बोनम्यारो प्रत्यारोपण (बोन म्यारो ट्रान्सप्लान्ट) युनिट स्थापना गर्ने तयारी अघि बढाइएको छ। चीन सरकारको सहयोगमा निर्माण हुने यो परियोजनाअन्तर्गत भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा चिकित्सक र नर्सलाई तालिम प्रदान गरिनेछ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार केही दिनअघि चीनबाट आएको प्राविधिक टोलीले दुई सातासम्म अस्पतालमा बसेर परियोजनाका लागि आवश्यक पूर्वाधार र प्राविधिक पक्षको अध्ययन गरेको थियो। टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना र नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसँग पनि छलफल गरेको थियो।
उनका अनुसार परियोजना अघि बढाउन नेपाल सरकारसँग पुनः सम्झौता गर्नुपर्नेछ। अस्पतालको अन्तरङ्ग सेवा भवनअगाडि तीनतले नयाँ भवन निर्माण गरिनेछ र चिनियाँ पक्षले सन् २०२६ भित्रै काम सुरु गर्ने तयारी गरेको छ।
परियोजनाका लागि चीन सरकारले करिब ३७ मिलियन चिनियाँ युआन (झण्डै ८४ करोड रुपैयाँ) लगानी गर्नेछ। भवन निर्माणसँगै आवश्यक उपकरण खरिद र सेवा सञ्चालनका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिने जिम्मेवारी पनि चीन सरकारले नै लिएको छ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार नेपाल सरकार र चीनको चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी (CIDCA) बीच यसअघि नै परियोजनासम्बन्धी सम्झौता भइसकेको छ।
निर्माण हुने बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुनेछ। सुरुमा पुरानो भवनमै सेवा सञ्चालन गर्ने योजना बनाइए पनि आवश्यक मापदण्ड पूरा नहुने भएपछि नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो। भवन निर्माण हुने स्थानको माटो परीक्षणलगायत प्रारम्भिक तयारी पूरा भइसकेको अस्पतालले जनाएको छ।
हाल अस्पतालका तीन जना चिकित्सक र केही नर्स चीनमा विशेष तालिम लिइरहेका छन्। यसअघि पनि तीन जना स्वास्थ्यकर्मीले छ महिनाको र पाँच जनाले दुई साताको विशेष तालिम पूरा गरिसकेका छन्। सेवा सञ्चालनका लागि आवश्यक थप जनशक्तिलाई पनि चीन सरकारले तालिम दिने तयारी गरेको छ।
चिनियाँ पक्षले निर्माण सुरु भएको करिब डेढ वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। अस्पतालका अनुसार सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने नेपाली बिरामीको बाध्यता हट्नेछ। स्वदेशमै कम खर्चमा अन्तर्राष्ट्रियस्तरको उपचार उपलब्ध हुने अपेक्षा गरिएको छ।
विसं २०५१ मा चीन सरकारको सहयोगमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल नेपालका साथै भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। चीनका चिकित्सकले पनि अस्पतालमा नियमित रूपमा सेवा दिँदै आएका छन्।



प्रतिक्रिया