जापानको पीआर त्यागिसकेको राजदूतका प्रस्तावित उम्मेदवार थापाको स्पष्टीकरण

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी बसोबास अनुमति (पीआर) त्यागिसकेको स्पष्टीकरण दिएका छन् ।

संसदीय सुनुवाइका क्रममा थापाले जापानको इमिग्रेसनबाट पीआर त्यागेको विवरण नेपालको परराष्ट्र मन्त्रालयमा प्राप्त भइसकेको जानकारी गराएका हुन् ।

सन् २००० मा जापान गएको उल्लेख गर्दै उनले त्यहाँ रहँदा नेपाललाई चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । नेपाली पहिचान झल्किने ढाकाटोपी लगाएर कार्यक्रम सञ्चालन गर्नेदेखि नेपालसँग सम्बन्ध जोड्ने गतिविधिमा आफू सक्रिय रहेको उनको भनाइ थियो ।

‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न आवेदन दिएको’ बताउँदै उनले आफ्नो उद्देश्य नेपालको हितमा काम गर्नु रहेको स्पष्ट पारे ।
थापाले जापानको पीआर लिएको र त्यसका कारण राजदूत बन्न अयोग्य रहेको भन्दै उजुरी परेको थियो । संसदीय सुनुवाइका क्रममा सांसदहरूले पनि उनको पीआरसम्बन्धी विषयमा प्रश्न उठाएका थिए ।

जवाफमा थापाले आफूले पीआर त्यागिसकेको दोहोर्‍याउँदै जापानमा रहेका आफ्नी श्रीमती र सन्तानसमेत नेपाली नागरिककै हैसियतमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार