काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् ।
प्रधानमन्त्री शाह बुधबार बिहान आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका हुन् । नित्य पूजाका क्रममा मन्दिर पुगेका उनले भगवतीको दर्शन गरेर फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री शाहको भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी दिइएको थिएन । स्रोतका अनुसार, प्रधानमन्त्रीसँगै रहेका सुरक्षाकर्मी पनि सिभिल पोसाकमा थिए ।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ । नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस मन्दिरमा विशेषगरी नवरात्रका अवसरमा दर्शनार्थीको उल्लेख्य भीड लाग्ने गर्छ ।
यस मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पलाञ्चोक भगवती मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन् ।





प्रतिक्रिया