टिकटक स्टारको गोली हानी हत्या

काठमाडौं । पाकिस्तानमा टिकटक स्टार आयशा गिमाना नामले चिनिने शाम्सो बिबीको हत्या भएको छ ।

टिकटकमा १३ लाखभन्दा बढी फलोअर्स भएकी २८ वर्षीया बीबीको गोली हानी हत्या गरिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार इस्लामाबादनजिकैको ट्याक्सिलामा उनीमाथि गोली प्रहार गरिएको थियो ।

दुई अज्ञात व्यक्तिले आयशा र उनका भाइबहिनीहरू सवार कारमाथि अन्धाधुन्ध गोली चलाइएको बताइएको छ ।

पीडितका पिता फजलका अनुसार, कासिफ उर्फ कासी नाम गरेका व्यक्तिले फोन गरेर आयशालाई घरबाहिर बोलाएका थिए । त्यसपछि आयशा आफ्नी १५ वर्षीया बहिनी असिमा र भाइ नेमतुल्लाहसँग कारमा बाहिर निस्किएकी थिइन् ।

उनीहरू पेट्रोल पम्पनजिकै पुगेपछि मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले कारमाथि गोली प्रहार गरेका थिए । गोली आयशाको गर्धनमा लागेको र घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ ।

गोली प्रहारपछि अनियन्त्रित बनेको कार अर्को गाडीसँग ठोक्किँदा उनकी बहिनी असिमा गम्भीर घाइते भएकी छन् ।

आयशाका पिताले प्रहरीमा दिएको उजुरीमा उनकी छोरीको कौसर र शाहीन जावेद नाम गरेका दुई व्यक्तिसँग आर्थिक लेनदेन रहेको उल्लेख गरेका छन् । उनले रकम फिर्ता माग्ने विषयमा आयशालाई धम्की समेत दिइएको जनाएका छन् ।

परिवारले कौसर र जावेद हत्यामा प्रत्यक्ष रूपमा संलग्न भएको वा उनीहरूले अरू व्यक्तिमार्फत आक्रमण गराएको हुन सक्ने आशंका गरेको छ ।

प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाएको छ । हत्याको वास्तविक कारण, आक्रमणकारीको पहिचान तथा घटनामा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया