काठमाडौं । अमेरिकी सिनेटमा ‘अस्योरिङ द फ्युचर अफ तिब्बत एक्ट’ नामक नयाँ विधेयक पेस गरिएको छ । विधेयकको उद्देश्य तिब्बती जनता तथा उनीहरूको लोकतान्त्रिक रूपमा निर्वाचित नेतृत्वसँग अमेरिकाको सहकार्य थप मजबुत बनाउनुका साथै तिब्बती जनताको आत्मनिर्णयको अधिकारलाई समर्थन गर्नु रहेको बताइएको छ ।
यो विधेयक सेनेटर जेफ मर्कले र जिम रिस्कले पेस गरेका हुन् । सेनेटर टिम केन, टड यङ, ज्याकी रोसेन र रिक स्कटले यसको सह–प्रायोजन गरेका हुन् । यो विधेयक तिब्बतको भविष्य सुनिश्चित गर्ने विषयमा अमेरिकी नीतिलाई थप स्पष्ट पार्ने प्रयासका रूपमा आएको बताइएको छ ।
‘इन्टरनेसनल क्याम्पेन फर तिब्बत’का कार्यकारी निर्देशक रायन फायरेसीले विधेयक पेस भएकोमा स्वागत गरेका छन् । उनले यसले तिब्बती जनतालाई आफ्नो भविष्य निर्धारण गर्ने विषयमा आफ्नो आवाज राख्ने अधिकार हुनुपर्ने मान्यतालाई बलियो बनाउने बताए ।
फायरेसीले भने, “इन्टरनेसनल क्याम्पेन फर तिब्बत यस विधेयकलाई छिटो पारित गराउन कंग्रेससँग मिलेर काम गर्न तत्पर छ । यो विधेयकले एउटा आधारभूत सिद्धान्तलाई मान्यता दिन्छ । तिब्बती जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्न पाउनुपर्छ ।”
‘अस्योरिङ द फ्युचर अफ तिब्बत एक्ट’ अन्तर्गत अमेरिकाले तिब्बती जनता तथा उनीहरूको लोकतान्त्रिक रूपमा निर्वाचित नेतृत्वसँग प्रत्यक्ष सम्पर्क कायम राख्नुपर्ने नीति अवलम्बन गर्ने प्रस्ताव गरिएको बताइएको छ ।
विधेयकले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत तिब्बती जनताको मौलिक तथा मानवअधिकारको स्वतन्त्र प्रयोगलाई समर्थन गर्ने नीति लिन पनि अमेरिकी सरकारलाई निर्देशित गर्नेछ । यसमा तिब्बती जनताको आत्मनिर्णयको अधिकार समेत समावेश छ ।










प्रतिक्रिया