काठमाडौँ । प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो तथा भिडियो सिर्जना गर्ने, आमक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने अभिप्रायले सिर्जित श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने र आम जनमानसमा त्रास सिर्जना गर्ने कार्य भइरहेको भन्दै प्रहरीले सचेत गराएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेले सार्वजनिक सचेतना जारी गर्दै यस्ता कार्य नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय हुने जनाइएको छ । यस किसिमका कार्यमार्फत समाजमा त्रास सिर्जना गर्ने तथा व्यक्ति वा संघसंस्थाको चरित्रहत्या गर्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कडा भन्दा कडा सजाय हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ ।
अनलाइन माध्यममा भेटिने हरेक विषयलाई हत्तपत्त विश्वास नगरी विश्वासनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन आम जनसमुदायमा अनुरोध गरिएको छ ।
प्रवक्ता एवं सूचना अधिकारी दिलीपकुमार गिरीले जारी गरेको सार्वजनिक सचेतनामा एआई तथा डिजिटल प्रविधिको दुरुपयोगबाट हुन सक्ने यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरिएको हो ।





प्रतिक्रिया