खाल्डा पुर्न सडक एम्बुलेन्सको प्रयोग

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय काठमाडौँले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ। सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको हो।

कार्यालयका अनुसार चक्रपथभित्रका सडकको मर्मतलाई प्राथमिकताका साथ अघि बढाएपछि अहिले चक्रपथबाहिरका सडकमा काम केन्द्रित गरिएको छ। सवारीसाधनको चाप कम हुने रातको समयसमेत उपयोग गर्दै मर्मत कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डअन्तर्गत गोल्फुटार, हात्तीगौंडालगायत क्षेत्रमा सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो। सडकमा खाल्डाखुल्डी देखिएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स तत्काल सम्बन्धित स्थानमा पुगेर मर्मत गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

‘सडक एम्बुलेन्स’मार्फत काठमाडौँका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। कार्यालयका अनुसार एम्बुलेन्स सेवा वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने योजना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार