साउनमा ५ अर्बले घट्यो सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालको सार्वजनिक ऋण करिब ५ अर्ब रुपैयाँले घटेको छ। विनिमय दरमा भएको लाभका कारण साउन मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँमा झरेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। साउन मसान्तसम्म आइपुग्दा कुल ऋण दायित्व ५ अर्ब ३ करोड रुपैयाँले घटेको हो।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.७२ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२८ प्रतिशत रहेको छ। साउन मसान्तसम्मको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.१० प्रतिशत बराबर पुगेको कार्यालयले जनाएको छ।

साउन मसान्तसम्म सरकारको आन्तरिक ऋण दायित्व १३ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। यो कुल जीडीपीको २०.८७ प्रतिशत हो। त्यस्तै, वैदेशिक ऋण दायित्व १५ खर्ब ९८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। वैदेशिक ऋण जीडीपीको २४.२२ प्रतिशत बराबर रहेको छ।

यसअनुसार नेपालको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको भार आन्तरिक ऋणभन्दा बढी छ। कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७२ प्रतिशत हुँदा आन्तरिक ऋणको हिस्सा ४६.२८ प्रतिशत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार