साल्ट ट्रेनिङले प्रदान गर्ने हेमबहादुर मल्ल पुरस्कार डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई

काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मानबाट यस वर्ष डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाल सम्मानित भएका छन्।

नेपाल जनप्रशासन संघद्वारा सोमबार आयोजित सम्मान वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठ र खनाललाई सम्मान प्रदान गरेका हुन्। सार्वजनिक सेवाप्रतिको समर्पण तथा राष्ट्रनिर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजमा नैतिकता, आचरण र इमान्दारीको महत्त्व अझ बढेको बताए।

उनले प्रविधि र क्षमता अरूबाट सिकेर उपयोग गर्न सकिने भए पनि आचरण, नैतिकता र इमान्दारी व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताए।

‘आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिन्छ। तर आधुनिक प्रशासनको आधार नैतिक र जिम्मेवार नेतृत्व हो भन्ने भावलाई बिर्सन हुँदैन,’ राष्ट्रपति पौडेलले भने, ‘आज हाम्रो समाजलाई नैतिकता, आचरण र इमान्दारीको अलिक बढी खाँचो छ।’

उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन तथा व्यवस्थापनका परम्परागत अभ्यासमा परिवर्तन ल्याइरहेको बताए। प्रविधिमा परिवर्तन आए पनि इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुराना नहुने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनमार्फत पूरा गर्नुपर्ने बताए। राज्यको सफलता र विकासलाई आर्थिक विकासका सूचकबाट मात्र हेर्न नहुने उनको भनाइ थियो।

जनताले राज्यबाट झन्झटरहित रूपमा पाउने छिटोछरितो र गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि राज्यको सफलताको आधारका रूपमा लिनुपर्ने उनले बताए।

उनले दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्व तथा उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने बताए।

नेपाल जनप्रशासन संघजस्ता पेसागत तथा प्राज्ञिक संस्थाले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको योगदानलाई स्मरण गर्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिनु सकारात्मक भएको राष्ट्रपति पौडेलले बताए।

राज्य, पेसागत संस्था, सार्वजनिक संस्थान र समाजबीचको सहकार्यबाट राष्ट्रनिर्माणका सकारात्मक मूल्यलाई संस्थागत गर्न सकिने उनले बताए। न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुसार देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको बताए।

प्रतिक्रिया