काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणले जिल्लाको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको व्यवसायीले बताएका छन्। शनिबार बर्खायामको कठिन सडक यात्रा गर्दै प्रधानमन्त्री शाह आफैँ सवारीसाधन चलाएर बेनी–जोमसोम सडक हुँदै जोमसोम पुगेका थिए। सोही साँझ उनले मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। मुस्ताङमा एक रात बसेपछि उनी आइतबार काठमाडौं फर्किएका छन्।
प्रधानमन्त्रीको सडकमार्गबाट भएको भ्रमणले मुस्ताङको पर्यटनसँगै सडक पूर्वाधारको अवस्थालाई समेत चर्चामा ल्याएको स्थानीय व्यवसायीको भनाइ छ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले प्रधानमन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटनको प्रचारमा सहयोग पुग्ने बताए। मुक्तिनाथको धार्मिक महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप प्रचार हुने उनको अपेक्षा छ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले बेनी–जोमसोम सडकको वास्तविक अवस्था समेत प्रत्यक्ष देखेको भन्दै व्यवसायीले सडक स्तरोन्नतिको अपेक्षा गरेका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडक बर्खामा अस्तव्यस्त हुँदा पर्यटक तथा स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका छन्।
लालचनले कोरला नाकालाई व्यवस्थित गर्दै कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका लागि अध्यागमन सेवा प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटनमा ठूलो परिवर्तन ल्याउन सकिने बताए। उपल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि लागू प्रतिबन्धित क्षेत्रसम्बन्धी व्यवस्था सहज बनाउन सके नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय पर्यटनको सम्भावना समेत विस्तार हुने उनको भनाइ छ।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले प्रधानमन्त्रीको भ्रमणलाई पर्यटन व्यवसायीका लागि सकारात्मक अवसरका रूपमा लिएका छन्। उनका अनुसार मुक्तिनाथको भ्रमणले धार्मिक पर्यटनको महत्व थप उजागर गरेको छ।
व्यवसायीका अनुसार उच्चपदस्थ विदेशी पाहुनाले मुक्तिनाथ दर्शन गरेपछि पर्यटक आगमन बढ्ने गरेको छ। सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको संख्या उल्लेख्य बढेको उनीहरूको अनुभव छ।
यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुक्तिनाथ दर्शन गरेकी थिइन्। प्रधानमन्त्री शाहको पछिल्लो भ्रमणले समेत मुक्तिनाथसहित समग्र मुस्ताङको धार्मिक तथा पर्यटन गतिविधिमा थप चासो बढ्ने व्यवसायीको अपेक्षा छ।


प्रतिक्रिया