काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा दुई खाद्य व्यवसायमा कैफियत भेटिएको छ।
विभागका अनुसार नागार्जुन–२ स्थित दारी बा’को दुग्ध भण्डारमा सरसफाइ सामान्य भए पनि कीट नियन्त्रण व्यवस्था सन्तोषजनक नरहेको तथा खाद्य अनुमतिपत्र नभएको उद्योगबाट बेकरीजन्य खाद्य पदार्थ खरिद गरी बिक्री–वितरण गरेको पाइएको छ। व्यवसायलाई अनुमतिपत्र नभएको उद्योगबाट खाद्य पदार्थ खरिद नगर्न निर्देशन दिँदै खुला गाई र भैंसीको दूधको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।
त्यस्तै, नागार्जुन–३ स्थित त्रिशक्ति बेभेरेज इन्डस्ट्रिज प्रा.लि.मा प्रशोधन कक्षका पाइपमा चुहावट तथा कामदारले चुरा, घडी र औंठीजस्ता गरगहना नछोपी काम गरेको भेटिएको विभागले जनाएको छ। उद्योगलाई प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको छ भने थप अनुसन्धानका लागि प्रशोधित पिउने पानीको नमुना संकलन गरिएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन तथा कारबाही गरेको जनाएको छ। उक्त अनुगमन भदौ ५ गते गरिएको थियो।



प्रतिक्रिया