काठमडौं । यतिखेर मौसमी तापक्रमसँगै नेपाली तापक्रमम पनि उच्च छ ।
केही दिनअघि मात्रै भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणलाई लिएर चिया पसलदेखि संसद तातेको छ । भ्रमणका क्रममा उठेका विवादाष्पद विविध शीर्षकमध्ये एक हो गंगा दाहालको उपस्थिति ।
मुख्यतयाः प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण दलमा आफ्नी छोरी सहभागी गराएको र भारतीय सुरक्षा सल्लाहकारसँगको भेटवार्तामा परराष्ट्र मन्त्रालयका कुनै कर्मचारी नदेखिएको तर उनकी छोरी सहभागी भएकाले यस विषयले स्थान पाएको हो ।
विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको सोमवारको बैठकमा कूटनीतिक शिष्टाचारसमेत पालना नभएको भन्दै परिवारका सदस्यलाई महत्त्वपूर्ण बैठकमा राख्नु अनुचित भएको बताए ।
तर, प्रधानमन्त्री निकटहरु सरकारी अधिकारीहरू भेटवार्ता भइरहेका ठाउँ नजिक नभएको अवस्थामा प्रधानमन्त्रीकी स्वकीय सचिव रहेकी छोरी एउटा महत्त्वपूर्ण भेटवार्तामा बसेको टिप्पणी गरेका छन्।
खासगरी सरकार वा राष्ट्रप्रमुखका श्रीमान् र श्रीमतीलाई विशिष्ट हैसियतसहित उच्चस्तरीय भ्रमणहरूमा सहभागी गराइने अभ्यास रहेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।
तर कतिपय यस्ता आदानप्रदानमा परिवारका सदस्यहरू पनि जाने गरेको पाइन्छ। नेपालकै सन्दर्भमा पनि पाँच पटक प्रधानमन्त्री रहेका दिवङ्गत गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई आफ्नो औपचारिक भारत भ्रमणमा साथै लिएर गएको अनुभव अधिकारीहरू सुनाउँछन्।
परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल गोपालबहादुर थापाले भने, “कुनै पनि सरकार प्रमुख वा राष्ट्र प्रमुखले विदेश भ्रमण गर्दा उनकी श्रीमतीलाई प्रथम महिला भनिन्छ। जसको छैन उनका छोरीलाई पनि निम्तो गर्ने कैयौँ देशले त्यस्तै हैसियत दिन्छन्। हाम्रैमा गिरिजाबाबुले कति पटक लग्नुभएको थियो। त्यसैले त्यो नयाँ कुरा होइन।”
प्रधानमन्त्री मोदीको श्रीमती नभएको प्रसङ्ग उल्लेख गर्दै थापाले थपे, “उनकी श्रीमती भएको भए उहाँको छेउमा हाम्रा प्रधानमन्त्री र मोदीको छेउमा प्रधानमन्त्रीकी छोरी बस्ने हुन्थ्यो। जसरी विगतमा सुजाता बसेकी थिइन्। अन्तर्राष्ट्रिय प्रचलन पनि भएकाले यसमा विरोधका लागि विरोध गर्न आवश्यक छैन।”






प्रतिक्रिया