काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदर धपाउने क्रममा प्रहार गरिएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खार्मीको निङ्गालेस्थित महभीरका ५२ वर्षीय श्यामबहादुर तामाङ रहेका छन् । उनलाई सोही ठाउँका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई ताकेर प्रहार गरेको भरुवा बन्दुकको गोली लागेको हो ।
प्रहरीका अनुसार घटना मंगलबार दिउँसो करिब २ बजे भएको हो । मकैबारीमा दैनिकजसो आउने बाँदरलाई धपाउन श्यामबहादुर र भलबहादुर पुगेका थिए । बाँदरलाई घेरा हालेर धपाउने क्रममा भलबहादुरले भरुवा बन्दुक प्रहार गर्दा गोली श्यामबहादुरको टाउकोमा लागेको थियो । गोली लागेलगत्तै उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनापछि भलबहादुरले आफैँ प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । उनको सूचनाका आधारमा प्रहरी चौकी खार्मीबाट टोली घटनास्थलमा पुगेर सुरक्षा घेरा बनाएको थियो ।
जिल्लाबाट प्रहरी टोली पुगेपछि घटनास्थलको सर्जमिन गरी मृतकको शव र भरुवा बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिए ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।







प्रतिक्रिया