काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनअन्तर्गत रहेका दुई वटा मल्टिसर्किट टावरको निर्माण प्रगतिको जानकारी लिएका हुन्।
मन्त्री श्रेष्ठले प्रसारण लाइनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। करिब १२ वर्षदेखि अल्झिएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अघि बढाउन आफूले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएको उनले बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मन्त्री श्रेष्ठको पहलपछि १२ वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको कामले गति लिँदै अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार हेटौँडा–ढल्केबर प्रसारण लाइनअन्तर्गत निर्माण गर्नुपर्ने १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्। बाँकी दुई वटा मल्टिसर्किट टावर पनि निर्माणको अन्तिम चरणमा पुगेका छन्।
कार्यकारी निर्देशक श्रेष्ठले बाँकी दुई वटा टावर १० देखि १५ दिनभित्र निर्माण सम्पन्न गरी प्रसारण लाइन चार्ज गर्ने तयारी भइरहेको बताए।
‘१४ वटा टावर तयार भइसकेका छन्। बाँकी दुई वटा टावरको कार्यप्रगति पनि राम्रो छ। १०–१५ दिनमै तयार गरेर चार्ज गर्छौँ। यसलाई हामीले ब्याकबोनका रूपमा लिएका छौँ। यसबाट विद्युत् आपूर्तिको विश्वसनीयता निकै बढ्छ। विद्युत् खपत बढाउनुका साथै निर्यातसमेत विस्तार गर्न सकिन्छ। दसैँलगत्तै चार्ज गर्ने तयारी छ,’ उनले भने।
मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर प्रसारण लाइनलाई नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा व्याख्या गरे। यो प्रसारण लाइन सञ्चालनमा आएपछि देशको विद्युत् प्रणाली थप सन्तुलित, भरपर्दो र गुणस्तरीय हुने उनको भनाइ छ।
उनले हेटौँडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ र दिगो हुने बताए। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणालीलाई बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुग्ने उनको भनाइ छ।
प्रसारण लाइन सञ्चालनमा आएपछि अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न तथा वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिनसमेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएसँगै राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्नुका साथै विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने मन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया