काठमाडौ । सूर्यविनायक नगरपालिकाले २० औँ धान दिवसको अवसर पारेर तीनदिने घरेलु तथा पर्यटन मेला सुरु भएको छ ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा तथा भक्तपुर घरेलु तथा साना उद्योगसंघको संयोजन, भक्पुर पर्यटन विकास समितिको प्रवद्र्धनमा कृषिसँग पर्यटन र बेरोजगारलाई उद्यमसँग जोड्ने उद्देश्यका साथ आज (शुक्रबार)बाट भक्तपुर सूर्यविनायक नगरपालिका ८ आदर्शस्थित हरित कृषि थोक बजारमा तीनदिने मेला सुरु भएको हो ।
मेला ९० वटा स्टल छन् । मेलामा १० हजारले अवलोकन गरेका छन् । मेला समारोह उद्घाटनलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले नगरपालिकालाई आत्मनिर्भर बनाउन मेलाले सहयोग पुर्याउने बताए ।
नगरपालिका च्याउ,कुरिलो, आलु र अन्य तरकारीमा आत्मनिर्भर बनेको बताउँदै उनले अन्य उपभोग्य वस्तुमा पनि आत्मनिर्भरताका लागि अघि बढ्ने बताए । ‘कृषिलाई विशेष प्राथमिकता दिएर अघि बढाउन हामी लागि परेका छौँ । कृषियोग्य जमिन नछुट्याए पनि खालि जमिनलाई व्यवस्थित गछौँ,’ उनले भने ।
चाईना भ्रमणको स्मरण गर्दै उनले भने, ‘चाइनाले पहिलो प्राथमिकतामा कृषिलाई राखेको छ तर नेपालमा पाइलट, अधिकृत डक्टरमात्रै बन्नुपर्छ भन्ने मान्यता छ, यस्तो सोचमा परिर्वतन आउन जरुरी छ ।’ सबैलाई जागिरले नपुग्ने बताउँदै उनले जागिर नपाए कृषि तथा व्यवसाय गर्नुपर्ने बताए ।
यस्तै, उपप्रमुख तथा मेलाकी मूल संयोजक सरिता भट्टराईले किसानलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
किसानविना हामी जोकोही पनि बाँच्न नसक्ने उनले बताइन् । मेलाले सबै व्यवसायीलाई एउटै छानामुनि राखी प्रवद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ छ । मेलाले नगरपालिकालाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भनेर सहयोग गर्ने बताउँदै उद्यमीलाई प्रवद्र्धन गर्ने बताइन् । मेलाले नगरपालिकालाई व्यवसायीलाई प्रवद्र्धन, उत्पादनलाई बजार व्यवस्थापन र उत्पादित वस्तुलाइ प्रशोधन गर्न रोडम्याप तय गर्न र व्यवसाय थालेर असफल भएकाको सहयोगी बन्न सहयोगी बन्न रोडम्याप निर्धारण गर्ने उनले बताइन् । नगरपालिकालाई राम्रो बनाउनका लागि सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।
गत वर्षदेखि नै सूर्यविनायक नगरपालिकामा आन्तरिक स्रोतको वृद्धि हुँदै गएको बताउँदै नगरपालिकाको विकासका लागि सबै पक्ष लागि पर्नुपर्ने उनको भनाइ छ ।उद्योगी व्यवसायीलाई सीधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधिसँग जोड्नका लागि मेलाले सहयोग पुर्याउने बताइन् ।
यस्तै, भक्तपुर घरेलु तथा साना महिला उद्योग संघकी अध्यक्ष देवका श्रेष्ठ कृषकलाई व्यवसाय गर भनेर मात्रै नहुने बताउँदै सँगसँगै प्रोत्साहित गर्नुपर्ने बताउँछिन् ।
किसानमा काम गर्न उत्साह रहेको र काम पनि गर्ने तर, समस्या आउनेवित्तिकै छाड्ने प्रवृति रहेको उनको अनुभव छ ।
विगत केही वर्षदेखि पाउँ व्यवसायमा रहेको बताइन् । साथै, उनले आफ्नो व्यवसाय हस्तान्तरणका लागि पारिवारिक उत्तराधिकारीसमेत तयार भइसकेको उनले बताइन् । उनले भनिन्, ‘लामो समयदेखि म पाउ व्यवसायमा छु । म मेरो व्यवसायलाई पारिवारिक व्यवसाय बनाउन चाहन्थे,’ उनले भनिन्, ‘त्यहीँ अनुरुप मैले छोरा–छोरीलाई फुड टेक्नोलोजी पढाएकी छु । अब उनीहरुले यही व्यवसाय अँगाल्छन् ।’




प्रतिक्रिया