काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण र सरकारका जनविरोधी गतिविधिविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यले दुईमहिने जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णयअनुसार अभियान आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
नेकपाका नेता तथा केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)का अनुसार अभियानमा आगामी निर्वाचन, पार्टी महाधिवेशन, संगठन विस्तार, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षालगायतका विषयलाई प्राथमिकता दिइनेछ ।
पार्टीले गत असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा पनि राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा सरकारका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गरिने उल्लेख गरेको छ ।
नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतले जागरण अभियान पार्टीलाई जनतामाझ फर्काउने उद्देश्यमा केन्द्रित रहने बताए । उनका अनुसार अभियानमार्फत संगठन सुदृढीकरण, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा महाधिवेशनको तयारीलाई अघि बढाइनेछ ।
त्यसैगरी, विपद्बाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाका काममा समेत पार्टीले ध्यान दिने बस्नेतले बताए । अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका सबै पार्टी कमिटी र नेता–कार्यकर्ता परिचालित हुने उनले जानकारी दिए ।



प्रतिक्रिया