काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ ।
कुल निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणाली तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
ऋणपत्रलाई केयर रेटिङ्ग्स नेपालले केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्रमा प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिनेछ





प्रतिक्रिया