मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, मेनरोडमा पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माथिबाट माटो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, पूर्वेलीटोलका करिब ४५ वर्षीय किरण रानामगर छन् । घटनामा मनहरी गाउँपालिका–६ का २७ वर्षीय रोशन श्रेष्ठ घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मंगलबार साँझ करिब ५ बजेर २५ मिनेटको समयमा सडक छेउमा रहेको पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माथिबाट माटो झरेर दुवैजना पुरिएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दुवैजनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो । उपचारका क्रममा चिकित्सकले किरणलाई साँझ ६ बजेर २ मिनेटमा मृत घोषणा गरेका थिए ।
घटनामा घाइते भएका श्रेष्ठको कम्मरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौँडा अस्पतालमै रहेको छ ।



प्रतिक्रिया