काठमाडौं । युक्रेनमा सैन्य खरिद प्रणालीमा चरम भ्रष्टाचार र लापरबाही भएको रिपोर्ट सार्वजनिक भएको छ ।
युक्रेनको ‘स्टेट अडिट सर्भिस’ र रक्षा मन्त्रालयको गोप्य प्रतिवेदनले यस्तो देखाएको ‘द न्युयोर्क टाइम्स’ ले जनाएको छ ।
अडिट प्रतिवेदनअनुसार, सन् २०२४ मा मात्रै ठगी, हिनामिना र अनुचित सम्झौताका कारण युक्रेनलाई १.२ अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको छ ।
प्रतिवेदनअनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायसँग लगातार सैन्य तथा वित्तीय सहयोगका लागि आग्रह गरिरहँदा देशभित्र सैन्य बजेटको ठूलो हिस्सा हिनामिना भएको छ ।
युक्रेनका प्रमुख १० सैन्य ठेकेदारमध्ये सातवटाविरुद्ध ठगी, सामान आपूर्ति नगरेको वा सञ्चालकहरू पक्राउ परेको विषयमा आपराधिक मुद्दा विचाराधीन रहेको बताइएको छ ।
ठेकेदार लियोनिद साइम्यानको नेतृत्वमा रहेको कम्पनी ‘पावलोह्राड केमिकल प्लान्ट’ले सेनालाई २ लाख ३३ हजार थान गुणस्तरहीन मोर्टार गोला आपूर्ति गरेको आरोप छ । साइम्यान यसअघि नै भ्रष्टाचारसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका थिए ।
उनकी श्रीमतीको लिक्टेनस्टाइनस्थित बैंक खातामा ९० लाख डलर फेला परेको दाबी गरिएको छ ।




प्रतिक्रिया