काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । आइतबार ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धताहरु पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको छ,’ प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।
यस्तै, उननले मानव अधिकार संस्कृतिको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेकाले यस दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘यस अवसरमा प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकारको प्रतिबद्धता व्यक्त गर्दछु ।’
सरकारले नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको भन्दै उनले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेश हुन बाँकी आवधिक प्रतिवेदनहरुसाथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेश हुने उल्लेख गरेका छन् ।
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानव अधिकारको खवरदारी गर्ने मानव अधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका छन् ।




प्रतिक्रिया