धितोपत्र र बीमा कसुरमा फरार चार जना पक्राउ

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न भई फरार रहेका चार जना प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा अनुसन्धान भइरहेको उक्त कसुरमा संलग्न चार जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर्स लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका ललितपुर जिल्ला साविक ललितपुर उपमहानगरपालिका–२ बस्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छन्।

बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार पनि पक्राउ परेका छन्।

यस्तै, बीमा ऐन, २०७९ अन्तर्गतकै कसुरमा फरार रहेका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थायी वतन भएकी नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सीआईबीले अनुसन्धानका क्रममा पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाएको छ। नेपाल प्रहरीले यसअघि पनि बीमा ऐन तथा धितोपत्र सम्बन्धी ऐनअन्तर्गतका फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार