तिब्बतबाट आएको बाढीका कारण रसुवामा ठूलो धनजनको क्षति, के-के भयो ?

तिब्बतबाट अचानक आएको भिषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ। बुधबार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको हो। बाढी तिब्बततर्फबाट आएको बताइएको छ। नेपाली क्षेत्रमा त्यति ठूलो वर्षा नभएकाले पनि बाढीको कारण माथिल्लो क्षेत्रमा आएको आकस्मिक बाढी हुनसक्ने अनुमान गरिएको छ।

बाढीको सबैभन्दा ठूलो असर रसुवाको तटीय क्षेत्रमा परेको छ। टिमुरे बजार र आसपासका बस्तीमा बाढी पसेर ठूलो क्षति भएको प्रारम्भिक जानकारी छ। दर्जनौँ बस्ती तथा बजार प्रभावित भएको बताइएको छ। तटीय क्षेत्रमा रहेका घर, संरचना तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेको आशंका गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीका कारण तल्लो तटीय क्षेत्रमा रहेका केही जलविद्युत् आयोजनासमेत बगेको सूचना आएको छ। बस्तीमा पनि बाढी पसेको र धेरै क्षेत्रमा क्षति भएको उनले बताएका छन्। यद्यपि, क्षतिको यकिन विवरण भने अझै संकलन भइरहेको छ।

स्याफ्रुबेशी क्षेत्रका नदी किनारका बस्तीमा समेत बाढी पसेको स्थानीय पत्रकारहरूले बताएका छन्। टिमुरे, स्याफ्रुबेशी, मैलुङ, पहिरेबेँसी, खाल्टे र बेत्रावतीलगायतका क्षेत्र जोखिममा परेका छन्। नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा पनि बाढीको असर बढ्न सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढीको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरबाट समेत निरीक्षण सुरु गरिएको छ। तर, बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही टोलीसँग समेत तत्काल सम्पर्क हुन नसकेको बताइएको छ। यसले घटनाको वास्तविक क्षति अझै गम्भीर हुनसक्ने आशंका बढाएको छ।

प्रहरी स्रोतका अनुसार यसपटकको बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी भएको प्रारम्भिक अनुमान गरिएको छ। कतिपय बस्ती र बजारमा ठूलो क्षति भएको तथा जनधनको अवस्था यकिन गर्न कठिन भइरहेको बताइएको छ।

भोटेकोशीको बाढी त्रिशूली नदीमा मिसिने भएकाले यसको असर रसुवामा मात्र सीमित नहुने भन्दै बाढी पूर्वानुमान शाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका बस्ती उच्च जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

विशेषगरी पृथ्वी राजमार्ग र त्रिशूली करिडोर आसपासका सडक तथा नदी किनारमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक परे सडक बन्द गरी आवागमन रोक्नसमेत सरकारलाई आग्रह गरिएको छ।

अहिले मुख्य चुनौती भनेको प्रभावित क्षेत्रमा उद्धार र क्षतिको वास्तविक विवरण संकलन गर्नु हो। बाढीको बहाव अझै जोखिमपूर्ण हुनसक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

रसुवाबाट सुरु भएको यो प्राकृतिक विपद्को असर तल्लो तटीय क्षेत्रमा समेत पर्नसक्ने भएकाले अब नुवाकोटदेखि धादिङ, गोरखा हुँदै चितवनसम्मका नदी किनारका बासिन्दा विशेष सतर्क रहनुपर्ने अवस्था देखिएको छ।

क्षतिको पूर्ण विवरण भने उद्धार तथा स्थलगत निरीक्षणपछि मात्रै स्पष्ट हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार