प्रदेश सरकारमा सहभागिताबारे निर्णयको अधिकार अध्यक्षलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन तथा सत्ता समीकरणमा भइरहेका गतिविधिलाई नजिकबाट नियाल्ने र उपयुक्त समयमा पार्टीको हितअनुसार उचित निर्णय लिने नीति तय गरेको हो।

बैठकपछि निर्णयबारे जानकारी दिँदै अध्यक्ष लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार गठनका लागि भइरहेका सत्ताकेन्द्रित गतिविधिमा सहभागी नभएको स्पष्ट पारे। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच विकसित भइरहेको सत्ता समीकरणमा पनि राप्रपाको तत्काल कुनै संलग्नता नरहेको उनले बताए।

यद्यपि, राजनीतिक परिस्थिति परिवर्तन भएमा राप्रपाले आफ्नो भूमिका आवश्यकताअनुसार तय गर्ने लिङ्देनको भनाइ छ। विशेष परिस्थिति सिर्जना भएर पार्टीले तत्काल कुनै निर्णय लिनुपर्ने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय बैठकले गरेको उनले जानकारी दिए।

राप्रपाले तत्काल सत्ता समीकरणमा सहभागी हुनुभन्दा प्रदेश सरकार गठनका क्रममा विकसित हुने राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्ने र आवश्यकताअनुसार आफ्नो रणनीति तय गर्ने संकेत दिएको छ।

प्रतिक्रिया