जेएनजीले किन गरे रास्वपाको विरोध ?

काठमाडौं । जेएनजी आन्दोलनको आडमा एक ठाउँमा आएका रवि, बालेन र कुलमानको एकताले पाएको चौतर्फी वाहिवाही सेलाउन नपाउँदै तीव्र आलोचना सुरु भएको छ ।  

रास्वपाले राखेको समानुपातिक सूचीमा समेटेका नामका कारण उनीहरु आलोचित भएका हुन् ।

करिब ७५ जना युवाको रगतको बलमा एकै ठाउँमा आउन बाध्य यी तीन पात्र सम्मिलित एकीकृत रास्वपाले समानुपातिकमा पठाएको सूचीमा समानुपातिक जेएनजी आन्दोलनको मर्म र पुरना राजनीतिक दलकको जस्तै अवसरवादीको नाम समेटिएको रवि,बालेन र कुलमान घिसिङमाथि आरोप छ ।

रास्वपाले पठाएको समानुपातिक बन्द सूचीमा एमाले निकट चन्द्र ढकालका छोरा, विभिन्न सेलीब्रेटी,खेलाडी र यसअघि विभिन्न राजनीतिक दलमा अवसर पाइरहेकाहरुको नाम समावेश छ ।

जेएनजी आन्दोलन नेपो ट्रेण्ड विरुद्ध भए पनि अहिले नेपोबेबीलाई नै स्थान दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।   नयाँ र विकल्प भन्दै आएकाले पनि यस्तो गर्नु ठिक नभएको भन्दै आफूहरुले नयाँ भन्दैमा प्रश्न गर्न नछाड्ने बताएका छन् ।

रास्वपाले समानुपातिक सूचीका पटक पटक छलफल गरी नाम माग गरेपछि रामजी राम, खुस्बु कुमारी शारफ, कामना पौडेल, बिनिता बोगटी, सुरेन्द्र बजगाई, हरिष भट्ट, ऋषि थापा, जमल अलि, जनक पोखरेल, विवेक शर्मा, प्रेम पोखरेल र जेनजी मुभमेन्ट अलायन्सकी साङ्केन राई लगायतको नाम पठाइएको थियो ।

त्यसैगरी जेनजी फ्रन्टबाट करिब १२ जनाको नाम बालेन तर्फबाट समानूपातिक सूचीमा राख्न पठाइएको थियो । अन्तिममा रास्वपाको समानुपातिक सूचीमा रामजी रामको नाम मात्र पर्‍यो । जसका कारण भित्रभित्रै उनीहरु असन्तुष्ट छन् । जेनजी आन्दोलनमै टेकेर राजनीति गर्न खोज्नेले जेनजीलाई स्थान नदिएर गम्भीर लापरबाही गरेको बताएका छन् ।

आफूहरुसँग पटकपटक छलफल गरेर समानुपातिक सूची माग गरियो । अन्तिम समयमा उक्त सूचीबाटै नाम  काटेको उनीहरुको भनाइ छ । बरु त्यसमा सेलिब्रेटीहरू र हुनेखानेहरूकै वर्चश्व देख्दा दु:ख लागेको बताएका छन् ।  

यद्यपि रास्वपा सभापति रवि लामिछानेले कलाकार र खेलाडी राजनीतिमा आउनु भनेको राजनीति गर्ने भनेर आएकाले राम्रो काम नगरेकाले यस्तो हुन गएको भनी टिप्पणी गरेका छन् ।

रास्वपा समानुपातिक सूचीबारे के भन्छन् जेएनजी प्रतिनिधि ?

समानूपातिक सूचीका लागि भनेर जेनजीका तर्फबाट पठाइएको नामहरू बालेन पक्षले पूर्णत: बेवास्ता गर्नु ठीक नभएको बिनिता बोगटी बताउँछिन् । हिजो यत्रो आन्दोलनपछि बनेको जेनजीका विभिन्न संगठनहरूले पठाएका नामहरू कोही पनि समानूपातिकमा नअट्नु दु:खको विषय भएको टिप्पणी उनको छ ।

‘जेनजी फ्रन्टको नाम लिएर हिँड्यौँ । तर, आज जेनजी फ्रन्ट, काउन्सिल लगायत साथीहरूले सिफारिसमा कोही पनि नपर्नु दुःखद विषय बनेको छ,’ बिनिताले भनिन्, ‘त्यसमाथि महिलाको प्रतिनिधित्व नै नहुनु झनै पीडादायी छ

सामाजिक सञ्जालमा पनि यसबारे विरोध जनाउँदै लेखेकी बोगटीले ‘नेपो किड्स’को पुरानै प्रवृत्ति दोहोरिएको बताएकी छन् ।

‘अहिले नेपो किड्सका अधिकांश नाम सूचीमा छन् । तर, हिजो ओलीविरुद्ध चर्को स्वरमा बोल्ने साथीहरू आज संसदमा बालेन र रविज्यू नपुग्दै बोल्न डराएको देख्दा गम्भीर प्रश्न उठ्छ,’ उनले लेखेकी छन् ।

यस्तो अवस्थामा आफ्नो प्रतिनिधित्वको लागि पछाडि हट्नु नहुने विनिता बताउँछिन् । बरु अझ स्पष्ट बुझाई र दृढ अडान आवश्यक रहेको छ । उनका अनुसार रास्वपाको समानुपातिक सूचीले देशको सुदूरपश्चिममाथि पनि अन्याय गरेको छ ।

‘ब्रान्ड नहुन सक्छ, तर जुम्लाको सिमी, हुम्लाको स्याउ र दैलेखको सुन्तला चिनाइरहेका मेहनती किसान र उनका सन्तानहरू समानुपातिकका लागि पूर्ण रूपमा योग्य थिए,’ कर्णाली प्रदेशस्थित वीरेन्द्रनगरबाट प्रतिनिधित्व गर्ने उनले भनिन्, ‘हामी प्रत्यक्ष निर्वाचनमा ठूला दलहरूसँग भिड्न पनि तयार छौँ । तर, यस्ता खराब प्रवृत्ति र अन्याय विरुद्ध बोल्न कर्णालीका मान्छेले कहिल्यै छोड्ने छैनन् ।’

जेनजीका तर्फबाट समानुपातिक उम्मेदवारको लागि नाम पठाइएकी कामना पौडेल पनि आफूहरू माथि बेवास्ता भएको बताउँछिन् । जबकी आफूहरूले पठाएको नाम समानुपातिकको मर्म विपरीत पनि नरहेको उनले बताउँछिन् ।

उनका अनुसार जेनजीका तर्फबाट गएको नाममा गाउँसमाज बुझेका व्यक्तिहरू थिए । अर्कोतर्फ, भोलिको दिनमा सदनमा जेनजी आन्दोलनको मर्म सम्झाउँदै ‘त्यो आन्दोलन किन भयो, के थियो मुद्धा ?’ भनेर बोल्ने मान्छे र झक्झकाउन केही प्रतिनिधि चाहिन्छ भन्दै सूची माग गरिएको थियो ।

तर, एकाएक समानुपातिकमा सेलिब्रटीमात्र देख्दा र आफूहरू सबैको नाम काटिएको थाहा पाउँदा दु:ख लागेको पौडेलले बताइन् । ‘हिजो जेनजी आन्दोलनमा बालेन शाह खुब खोजियो । तर, अहिले उहाँहरू आफैँले जेनजीको भावना विपरीत सूची बनाउनुभयो । हाम्रै आन्दोलनको जगमा शक्तिशाली दल बनाइरहँदा आफूहरूलाई नै बेवास्ता गरिनु एकदमै दु:खको कुरो हो,’ उनले भनिन् ।

आन्दोलनको अग्रमोर्चामा रहेका पठाउनुपर्छ भन्ने जेनजीहरूबीच सल्लाह भएरै नामहरू पठाइएको बताउँदै साङ्केनले रास्वपासँगै त्यसभित्र बालेन पक्षको पनि नाम छनोट गर्ने प्रवृत्ति एकदमै समस्याग्रस्त रहेको टिप्पणी गरिन् ।

‘समानुपातिकमा जस्तो मान्छे राख्नुहुन्छ, त्यस्तै कानुन बन्ने हो । काठमाडौं बस्ने धनाढ्यले कसरी कर्णाली र सुदूरपश्चिमको आवाज बोक्छ ? कस्तो कानुन बनाउला ?,’ रास्वपालाई प्रश्न गर्दै साङ्केन भन्छिन्, ‘म आफैँ संखुवासभाको हुँ । आदवासीका मुद्धालाई स्थापित गर्न लागिपरेको छु । अहिलेका समानुपातिकमा परेका इलिटले संखुवासभा चिनेका पनि छैनन् होला । उनीहरूले मेरो प्रतिनिधित्व कसरी गर्छन् ? अहँ म विश्वास गर्न सक्दिनँ । यो घोर आपत्तिजनक कुरा हो ।’

त्यस्तै, जेनजी फ्रन्टकी संयोजक रक्षा बमको प्रश्न पनि उस्तै छ । बमका अनुसार, सदियौँदेखि पछि पारिएका समूदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो ।

‘निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समूदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो । तर, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् । त्यसैले दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भएको छ’ उनले भनेकी छन् ।

रास्वपाको समानुपातिक सूचीमा पनि सुदूरपश्चिमबाट न्यून प्रतिनिधित्व भएको गुनासो आइरहेको बेला रक्षाले लेखेकी छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् ।’

जेनजी अगुवा उपार्जुन चामलिङ राई व्यक्तिगत रुपमा आफूलाई समानुपातिकमा बस्ने इच्छा नरहे पनि जेनजीको तर्फबाट पठाइएको नाम काट्नु दु:खद रहेको बताउँछन् । यसरी पठाइएका नामहरू हटाएर चर्चित अनुहारमात्र राख्नुले समानूपातिकमा ‘टोकनिजम्’ हाबी भएको उनले बताए ।

‘नयाँहरूले पनि चर्चित अनुहार मात्र राखे । जसरी हुन्छ, मास अपिल गरेर जित्नु छ भन्ने मात्र देखियो । तर, यो ठीक भएन,’ चामलिङले भने, ‘चुनाव जित्ने कुरा प्राथमिक देखियो । तर, कसलाई जिताउने भन्ने कुरामा ध्यान पुगेको देखिएन । पछाडि परेकालाई पनि जिताउनुपर्छ भन्नेमा चेतना पुर्‍याएको देखिएन ।’

प्रतिक्रिया