सानिमा बैंकका ठूला सेयरधनी थप

काठमाडौं । गत आर्थिक वर्षमा सानिमा बैंकका ठूला शेयरधनीका रूपमा थप तीनवटा जीवन बीमा कम्पनी प्रवेश गरेका छन्। बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व कायम गर्ने ठूला शेयरधनीका रूपमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) र नेपाल लाइफ इन्स्योरेन्स थपिएका हुन्।

यी तीन कम्पनी थपिएसँगै सानिमा बैंकका ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका ठूला शेयरधनीको सूचीमा चारवटा बीमा कम्पनी पुगेका छन्। सन नेपाल लाइफ इन्स्योरेन्स भने विगतदेखि नै बैंकको ठूलो शेयरधनीका रूपमा रहँदै आएको छ। हाल बैंकमा सन नेपाल लाइफको ४.५१ प्रतिशत शेयर स्वामित्व रहेको छ। यस आधारमा सन नेपाल लाइफ बैंकको चौथो ठूलो शेयरधनी हो।

सानिमा बैंकमा सबैभन्दा धेरै शेयर स्वामित्व अरुणकुमार ओझाको रहेको छ। बैंकमा उनको ८ प्रतिशत शेयर स्वामित्व छ। ओझासँग १ करोड ८ लाख ६७ हजार ८४५ कित्ता शेयर रहेको छ।

त्यस्तै, टेक राज निरौलाको बैंकमा ६.३९ प्रतिशत शेयर स्वामित्व रहेको छ। उनीसँग ८६ लाख ७४ हजारभन्दा बढी कित्ता शेयर रहेको छ। जिवनाथ लामिछानेको ५.२६ प्रतिशत स्वामित्व रहेको छ भने उनको नाममा ७१ लाख ४६ हजारभन्दा बढी कित्ता शेयर छ।

कर्मचारी सञ्चय कोष सानिमा बैंकको पाँचौँ ठूलो शेयरधनी हो। कोषको बैंकमा ४.२८ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसैगरी, अमला इन्भेष्टमेन्ट प्रालिको ३.९७ प्रतिशत, विनयकुमार श्रेष्ठको ३.८५ प्रतिशत, घनश्याम थापाको ३.४१ प्रतिशत, खेमराज लामिछानेको ३.११ प्रतिशत, रामकृष्ण शाहको २.४७ प्रतिशत र मनोकामना क्यापिटलको १.१० प्रतिशत शेयर स्वामित्व रहेको छ।

गत आर्थिक वर्षमा मनोकामना क्यापिटलले समेत बैंकमा आफ्नो शेयर स्वामित्व बढाएको छ। अघिल्लो वर्ष ०.५८ प्रतिशत रहेको क्यापिटलको स्वामित्व बढेर १.१० प्रतिशत पुगेको हो।

त्यस्तै, गत वर्ष सानिमा बैंकको ठूला शेयरधनीको सूचीमा एनएमबि बचत फण्ड ई पनि थपिएको छ। फण्डको बैंकमा ०.७२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

गत आर्थिक वर्षदेखि ठूला शेयरधनीका रूपमा प्रवेश गरेका तीन जीवन बीमा कम्पनीमध्ये सूर्यज्योति लाइफको शेयर स्वामित्व ०.५९ प्रतिशत, एलआईसी नेपालको ०.५४ प्रतिशत र नेपाल लाइफको ०.५१ प्रतिशत रहेको छ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार यी कम्पनीहरू ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व कायम गर्ने शेयरधनीको सूचीमा परेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार