काठमाडौं । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार (असोज १२) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग गरेकी हुन् ।
हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् । किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्न समेत कठिनाइ भोगिरहेको उनले बताइन् ।
खाद्य संस्थानहरूमा हप्तौँ लाइन बस्दा समेत सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पाउन नसक्दा किसान बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ छ ।
सरकारको उदासीनताले किसानको मनोबल गिराएको उनले उल्लेख गरिन् । “समयमा मल दिन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ,” उनले भनिन् ।
उनले स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन र किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरिन् ।




प्रतिक्रिया